

काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको मृत्यु भएको छ ।
जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रेका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिस बुढाको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।
रावलको उपचारको क्रममा अस्ति बेलुका जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो । जमदार मगर र बुढाको उपचारको क्रममा काठमाडौंको कीर्तिपुरमा रहेको जलन अस्पतालमा हिजो मृत्यु भएको हो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरकै जलन उपचार अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ ।
गएकोसोमवार डढेलो निभाउनेक्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका उनीहरु जलेर घाइते भएका थिए ।