

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन प्रयोजनाका लागि आज दिउँसो १ बजेलाई राष्ट्रिय सभाको बैठक डाकिएको छ । दिउँसो सवा १ बजेका लागि बैठक बोलाइएको हो ।
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी उम्मेदवार हुनुहुन्छ।
आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण दाहालले दुवै उम्मेदवारका प्रस्तावकहरुलाई पालैपालो निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न दिनेछन् ।
एमालेकी घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भगवती न्यौपानेले र कांग्रेसकी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव दुर्गा गुरुङले प्रस्तुत गर्नुहुने छ ।
त्यसपछि अध्यक्ष दाहालले दुवै प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । जुन प्रस्ताव बहुमतले पारित हुन्छ, त्यही निर्वाचित हुने संघीय संसद सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनसँग बहमुत भएकाले राष्ट्रिय सभा उपाध्यक्ष पदमा कपिलवस्तुकी घिमिरे निर्वाचित हुने लगभग निश्चित छ ।