काठमाडौं:एन आई सी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्न नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
बैंकले ग्राहकको सहजताका लागि ‘अक्सन असिस्टेन्स’ पोर्टल सार्वजनिक गरेको हो।अब इच्छुक खरिदकर्ताले बैंकको लिलाम सम्बन्धी सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी वा सिधै https://auctionassistance.nicasiabank.com लिंकमार्फत लिलाममा रहेका सम्पत्तिहरूको विवरण हेर्न सक्नेछन्। पोर्टलमा सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र स्थान पहिचानका लागि गुगल म्याप समेत समावेश गरिएको छ।
सम्पत्ति खरिद गर्न इच्छुक ग्राहकले थप जानकारीका लागि सोही पोर्टलमा रहेको म्यासेज बक्समा आफ्नो नाम, इमेल र मोबाइल नम्बर राखी सम्पर्क गर्न सक्ने व्यवस्था बैंकले मिलाएको छ।यस पोर्टलमा बैंकिङ्ग तथा गैर–बैंकिङ्ग सम्पत्ति र धितोमा रहेका सम्पत्तिहरूको लिलाम सम्बन्धी सूचना नियमित रूपमा अपडेट गरिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले जानकारी दिए।यस प्रविधिमैत्री व्यवस्थाबाट लिलाम बिक्री प्रक्रिया थप पारदर्शी हुने र इच्छुक ग्राहकले घरमै बसी विस्तृत जानकारी लिएर लाभ उठाउन सक्ने बैंकले विश्वास लिएको छ।
