०७ जेठ २०८३, बिहिबार

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

Logo
Pulse Khabar सोमबार, जेठ ०४, २०८३

म्याग्दी, ४ जेठ : यहाँको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन् । हालै विवाहबन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडकबत्ती जडान गर्नुभएको हो । सडकबत्ती जडान भएपछि रातको समयमा उज्यालो हुँदा हिँडडुल गर्न सहज, सुरक्षित महसुस र चितुवालगायत वन्यजन्तुको आवतजावत घटेको कोत्रवाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

“नवदम्पतीलाई टोल सुधार समिति र स्थानीय बिहानी आमा समूहले सडकबत्तीको आवश्यकता दर्शाएका थियौँ”, उहाँले भन्नुभयो, “हाम्रो प्रस्ताव स्वीकार गरी प्रकाश र राधिकाले १४ वटा ३० वाट र तीनवटा ५० वाट क्षमताको सडकबत्ती, तारलगायत सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनुभयो ।”

मङ्गला गाउँपालिकाले बिजुलीको पोलबाहेकका ठाउँमा सडकबत्ती राख्न तीनवटा पोल उपलब्ध गराएको छ । टोल सुधार समितिका अध्यक्ष विश्वकर्माले दुई दिन लगाएर बत्ती जडान गर्नुभएको हो । सिम, कोत्रवाङ, कुहुँ जाने सडक र काफलचौरको झोलुङ्गे पुलसम्म बत्ती जडान गरिएको छ ।

रात परेपछि बल्ने र उज्यालोमा निभ्ने स्वचालित सडकबत्ती जडान गरिएको हो । यसअघि रातको समयमा चितुवा बस्तीमा पस्ने गरेको थियो । झलमल्ल भएपछि चितुवा बस्ती पस्न डराएको र स्थानीयवासी ढुक्क भएको टोल सुधार समितिका अध्यक्ष विकले बताउनुभयो । कोत्रवाङमा २२ घरपरिवारको बसोबास छ ।

प्रकाशका बुबा चित्रबहादुर र दाजु विकास खत्रीले यसअघि कोत्रवाङ हुँदै ताराखेत जोड्ने पदमार्ग निर्माण गर्नुभएको थियो । हाल प्रकाश र उहाँकी पत्नीले जडान गर्नुभएको सडकबत्तीले पनि वस्तीमा सुविधा पुगेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206