

विराटनगर । सत्ताको दाउपेचको राजनीतिमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई आफ्नै दलले समेत साथ नदिने देखिएको छ । नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्न सुझाव दिनुभएको छ ।
कार्कीले कम्पनीजस्तो गरेर प्रदेश सरकार चलाएको आरोप लगाउँदै थापाले नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नु पर्ने बताउनुभएको हो । एमाले र माओवादीका सांसदले विश्वासको मत फिर्ता लिइसकेकाले कार्की अल्पमतमा परेको भन्दै उहाँले अंक गणितका आधारमा मुख्यमन्त्रीले विश्वासको मत लिनसक्ने अवस्था नदेखिएको बताउनुभयो ।
‘मुद्दा मामिला गरेर कोशी प्रदेशमा थप अस्थिरता पैदा गर्न नहुने उहाँको धारणा छ । विश्वासको मत पाउन सक्ने अबस्था भएमात्रै पार्टीले सहयोग गर्ने उहाँको भनाइ छ । नेपाली कांग्रेस पार्टी मध्यावधिको पक्षमा नरहेको भन्दै उनले प्रदेशलाई अस्थिरतातर्फ धकेल्न नहुने बताए ।