राष्ट्रको आर्थिक मेरुदण्डका रूपमा रहेको भन्सार समाजको सुरक्षा र समृद्धिमा निर्णायक आर्थिक भूमिका निर्वाह गर्दै आएको सर्वबिदितै छ। हाल “सतर्कता र प्रतिबद्धताका साथ समाजको रक्षा गर्ने भन्सार” भन्ने नारा सहित विश्व भन्सारको दायित्व, इमानदारी र राष्ट्रप्रतिको उत्तरदायित्वको स्पष्ट सन्देशले देशका सीमानाकाहरूमा हुने आयात/निर्यात गतिविधिको नियमन गर्दै भन्सारले राजस्व संकलन मात्र होइन, अवैध तस्करी,करछली,लागूऔषध तथा निषेधित वस्तुको ओसारपसार नियन्त्रणमा समेत प्रभावकारी भूमिका खेल्दै आएको छ। भन्सार कर्मचारीहरूको निरन्तर सतर्कता र कर्तव्य निष्ठताले उपभोक्ताको स्वास्थ्य, राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्व सुनिश्चित गर्न सहयोग पुगेको छ। आधुनिक प्रविधिको प्रयोग, स्वचालित प्रणाली, जोखिम विश्लेषण तथा अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट भन्सार प्रशासन समयानुकूल सुधार हुँदै गएको छ। पारदर्शी, जवाफदेही र सेवाग्राही मैत्री भन्सार प्रणालीले सरकार र नागरिकबीचको विश्वासलाई थप मजबुत बनाएको छ। समाजप्रति प्रतिबद्ध, राष्ट्रप्रति समर्पित र कानुनप्रति निष्ठावान भन्सार प्रशासन नै समुन्नत र सुरक्षित समाज निर्माणको बलियो आधार हो,त्यसैले सतर्कता र प्रतिबद्धताका साथ समाजको रक्षा गर्ने भन्सार आजको आवश्यकता र राष्ट्रको गौरव हो।
भन्सार प्रशासन कुनै पनि देशको राजस्व संकलनको मुख्य आधार हो। यसले आयात/निर्यात व्यवस्थापन, अवैध व्यापार नियन्त्रण, लागुऔषध तथा निषेधित वस्तुहरूको रोकथाम, बौद्धिक सम्पत्ति संरक्षण र राष्ट्रिय सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउदै आजको विश्व व्यापीकरणको युगमा भन्सार केवल कर संकलन गर्ने निकाय मात्र नभई व्यापार प्रवर्द्धन गर्ने साझेदारका रूपमा स्थापित हुँदै गएको छ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको इतिहास सन् १९५३ जनवरी २६ बाट सुरु हुन्छ, यही दिन बेल्जियमको ब्रसेल्समा अन्तर्राष्ट्रिय भन्सार परिषद्को स्थापना गरिएको थियो, जसलाई पछि “विश्व भन्सार संगठन” नाम दिइयो। नेपालले विश्व भन्सारको सदस्यता २२ जुलाई १९८६ मा प्राप्त गरे संगै हाल १८७ देश विश्व भन्सारका सदस्य छन्। अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, भन्सार सुरक्षाको मजबुती, अवैध कारोबार नियन्त्रण तथा प्रविधिमैत्री प्रणालीको विकासमा विश्व भन्सार संगठनले अग्रणी भूमिका खेल्दै आएको छ। स्थापना दिवसको स्मरण स्वरूप नै जनवरी २६ लाई अन्तर्राष्ट्रिय भन्सार दिवसका रूपमा मनाउन थालिएको हो। यही ऐतिहासिक दिनको सम्झनामा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइन्छ। हाल विश्वका बढी भन्दा बढी देशका भन्सार प्रशासनलाई एउटै मञ्चमा ल्याई सहकार्य, सूचना आदान/प्रदान, क्षमता विकास र आधुनिक भन्सार प्रणालीको प्रवर्द्धन गर्दै आएको छ। हरेक वर्ष यस दिवसका लागि फरक नारा तय गरिन्छ, जसले नवप्रवर्तन, सुशासन, प्रबिधिमैत्री भन्सार, व्यापार सहजीकरण र सुरक्षा जस्ता विषयलाई प्राथमिकता दिन्छ। प्रत्येक वर्ष जनवरी २६ का दिन विश्वभर अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने क्रममा यो दिवस भन्सार प्रशासनको महत्व, योगदान र भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गर्न समर्पित छ। विश्व व्यापारलाई सुरक्षित, सहज, पारदर्शी र व्यवस्थित बनाउन भन्सार प्रशासनले खेलेको भूमिकालाई उजागर गर्नु नै यस दिवसको मुख्य उद्देश्य हो।
नेपाल भन्सारको इतिहास अत्यन्त पुरानो छ। लिच्छवि तथा मल्लकालमै व्यापारिक मार्गहरूमा कर तथा चुंगी उठाउने व्यवस्था रहेको ऐतिहासिक प्रमाणहरू पाइन्छन्। त्यस समय भारत, तिब्बत र मध्य एशियासँग हुने व्यापार अन्तर्गत नाकाहरूमा कर संकलन गरिन्थ्यो। मल्लकालमा काठमाडौं उपत्यकालाई व्यापारिक केन्द्रका रूपमा विकास गरिँदा भन्सार तथा महसुल प्रणालीलाई व्यवस्थित गरिएको थियो। आधुनिक नेपालमा भने वि.सं. २००७ सालको राजनीतिक परिवर्तनपछि भन्सार प्रशासनलाई औपचारिक र संस्थागत स्वरूप दिइयो। भन्सार ऐनको कार्यान्वयनसँगै नेपाल भन्सारले कानुनी, प्रशासनिक र संरचनागत विकासको मार्ग तय गर्यो। समयक्रम संगै नेपाल भन्सारको ऐन तथा नियमावलीमा संशोधन गर्दै भन्सार प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिष्कृत गरिँदै आज नेपाल भन्सारले प्रबिधिमैत्री प्रणाली, जोखिम व्यवस्थापन प्रणाली, एकद्वार सेवा केन्द्र र अनलाइन भुक्तानीजस्ता प्रविधि अपनाउँदै आएको छ। यसले व्यापार सहजीकरण बढाउनुका साथै पारदर्शिता र सुशासनमा योगदान पुर्याएको छ। नेपाल भन्सारले विश्व भन्सारसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा प्रवाह गरिरहेको छ।