

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।
आज बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उपमहासचिव ज्ञवालीले एमालेको उम्मेदवारलाई निर्वाचित गराउन अन्य दललाई समेत आग्रह गर्ने निर्णय भएको बताउनुभयो ।
सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुनुहुन्छ । सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै ५ जनाको नाम सिफारिस गरेको थियो ।