

विराटनगर । विराटनगर – ४ मा रहेको नोबेल टिचिङ्ग अस्पतालको अर्थो विभागमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न प्रेमी २२ वर्षीय शिवशंकर दासले आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् ।
नोबेल अस्पताल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा दासको शव भेटिएको हो । गएराती दास मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिनुभयो ।
सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिनादेखि भाडामा बस्दै आएकी थिइन् । गएको शुक्रबार दिउँसो चन्द्रीकाको शव कोठाको बाथरुममा भेटिएको थियो। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो ।
चन्द्रिकाको हत्या उनकै प्रेमी शिवशंकरले गरेर फरार भएको हुन सक्ने सम्भावना देखिएपछि प्रहरीले शिवशंकर दासको खोजी सुरु गरेको थियो । फरार रहेका भनिएको शिवशंकर आत्महत्या गरेको अवस्थामा भेटिएको एसपी कार्कीले पुष्टि गर्नुभयो । हिजो दिउँसो विराटनगरको कन्चनबारीतिर शिशवंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको थियो । ट्रयाक गर्दै खोजी गर्ने क्रममा होटल फाइन होटलमा प्रहरी टोली पुगेको थियो । होटलको एउटा ढोका खुलेन । त्यसपछि ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा शव भेटिएको हो।
चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका शिवशंकर र चन्द्रिका कुमारीको सम्बन्धमा दरार आएपछि घटना भएको प्रहरीको अनुमान छ । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएको बेला चन्द्रिका कुमारीको सिएमए सिराहका अमिन धानुकसँग प्रेम सम्बन्ध रहेको खुलेको छ । चन्द्रीकाले धोका दिएको कारण उनको हत्या गरेर आफूले पनि आत्महत्या गरेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको पनि उनले जानकारी दिए ।
शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाण्डौं फर्किएका थिए । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी प्रेमी चन्द्रिका कुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ । प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ ।
हत्यापछि शिवशंकर दुई दिन कता गए त्यो अनुसन्धान भइरहेको एसपी कार्कीले बताए । आत्महत्या गरेका शिवशंकरको शवको सनखात उनका दाजुले गरेका छन् ।