‘हाम्रो हेल्थ’ नामक स्वास्थ्य प्रविधि संस्थाले काठमाडौँ उपत्यकाका ४५ भन्दा बढी विद्यालयका करिब २२ हजार विद्यार्थीहरूको डिजिटल स्वास्थ्य प्रोफाइल तयार गरेको छ। यससँगै संस्थाले ५८ हजारभन्दा बढी स्वास्थ्य अभिलेख बिन्दुहरूलाई सुरक्षित रूपमा डिजिटलाइज गरेको जानकारी दिएको छ। विद्यार्थीहरूको स्वास्थ्य अभिलेख कागजी स्वरूपमा सीमित हुँदा व्यवस्थापनमा देखिएका कठिनाइ समाधान गर्नका लागि संस्थाले प्रविधिमुखी विद्यार्थी स्वास्थ्य रेकर्डिङ प्रणाली विकास गरेको हो। यस प्रणालीमार्फत विद्यार्थीका स्वास्थ्यसम्बन्धी सम्पूर्ण गतिविधि जस्तै विद्यालयमा भएका नियमित स्वास्थ्य परीक्षण, खोप, औषधि वितरण, पोषण कार्यक्रम आदि व्यवस्थित रूपमा अभिलेख हुने व्यवस्था गरिएको छ।
संस्थाका संस्थापक डा. प्रशान्त भट्टराईका अनुसार सरकारले अघि सारेको ‘एक विद्यालय, एक नर्स’ नीति, मध्याह्न भोजन, खोप, डिवर्मिङ, तथा आयरन–भिटामिन वितरणजस्ता कार्यक्रम विस्तार हुँदै गएका बेला विद्यार्थी स्वास्थ्यसम्बन्धी एकीकृत डाटाबेसको अभावले नीतिगत निर्णयमा आवश्यक वास्तविक समयका तथ्याङ्क प्राप्त गर्न कठिनाइ हुने अवस्था रहँदै आएको छ। डा. भट्टराईले ‘हाम्रो हेल्थ’ ले विद्यार्थी, अभिभावक, विद्यालय र स्थानीय सरकारबीच तथ्यमा आधारित निर्णय प्रक्रियालाई सुदृढ बनाउने दीर्घकालीन विद्यार्थी स्वास्थ्य तथ्याङ्क प्रणाली तयार गरिरहेको बताए।
उनका अनुसार यस डिजिटल प्रोफाइलमा सरकारका खोप, आयरन तथा भिटामिन वितरण कार्यक्रम, डिवर्मिङ, विद्यालय नर्सद्वारा प्रदान गरिने प्राथमिक उपचार, तथा निजी क्षेत्रका स्वास्थ्य परीक्षणसमेत समावेश गरिनेछ।डा. भट्टराईले थपे, “विद्यालयमा भएका प्रत्येक स्वास्थ्यसम्बन्धी क्रियाकलापलाई समेट्ने, दीर्घकालीन र व्यवस्थित अभिलेख निर्माण गर्नु नै हाम्रो संस्थाको मुख्य लक्ष्य हो।”