विसं २०८० कात्तिक २७ गतेदेखि मुस्ताङवासीका लागि सामान किनमेल गर्न खुला भएको कोरलानाकामा गत वर्ष अध्यागमन कार्यालय स्थापना भएको थियो भने यस वर्षदेखि तातोपानी र रसुवाको नाका बन्द भएपछि चीन र नेपालको निकासी, पैठारी यही नाकाबाट हुन थालेको छ ।
मुस्ताङमा रहेको कोरलानाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती जनप्रतिनिधि र अधिकारीहरूसँग छलफलका लागि गत शुक्रबार गएको बताउनुभयो ।
नेपाल र चीन सरकारका अधिकारीहरूसँग समन्वय गरेर कोरलानाका हुँदै मानसरोवर पुग्ने धार्मिक पर्यटकीय मार्गको सम्भाव्यता अध्ययनका लागि आएका हौँ”, उहाँले भन्नुभयो, “हाम्रो पहलले सार्थकता पाएमा गण्डकी प्रदेश र नेपालको पर्यटन, सांस्कृतिक सम्बन्ध र आर्थिक समृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएका छौँ ।” अहिले भारतीय मार्ग हुँदै जाँदा एउटै धार्मिक पर्यटकले प्रतिव्यक्ति रु दुई लाखभन्दा बढी खर्च गर्नुपर्ने अवस्थामा कोरलानाकाबाट सहज आवतजावत भएमा निकै कम खर्चमा कैलाश तथा मानसरोवरको भ्रमण गर्न सकिने बताइएको छ ।
पोखरा र काठमाडौँबाट हवाईमार्ग र सडक सञ्जालबाट सहजै कोरालानाका हुँदै सवारीसाधनको प्रयोग गरी मानसरोवरसम्म जान सकिन्छ । चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौँ नेपाली पर्यटकले भ्रमण गर्ने गरेका छन् ।
मुस्ताङको बाटो हुँदै कैलाश मानसरोवर जान काठमाडौँबाट २५ मिनेटमा पोखरा र पोखराबाट २५ मिनेटको उडान र चार सय किलोमिटरको यात्रापछि पोखराबाट म्याग्दी बेनी हुँदै मुस्ताङको कोरलानाका पुग्न सकिन्छ । हवाईमार्ग हुँदै मुस्ताङको जोमसोम पुगेकाहरू ९६ किलोमिटरको दूरी पार गरेपछि लोमान्थाङ हुँदै करिब साढे चार घण्टामा कोरला पुग्न सकिन्छ ।
नेचुङ–लिजी भन्सारबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोम्वासेनमा पुगिन्छ भने त्यहाँबाट तीन सय किलोमिटरको यात्रापछि छ घण्टामा कैलाश तथा मानसरोवरमा पुगिने अध्यक्ष गुुरुङले बताउनुभयो । तिब्वती क्षेत्रको सडक सञ्जाल र सवारीसाधनसमेत आधुनिक भएकाले यात्रा निकै सहज रहेको उहाँले बताउनुभयो । हिन्दू धर्ममा शिवको बासस्थान भनिने कैलाश समुद्र सतहबाट छ हजार ६०३ मिटर उचाइमा रहेको छ । कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ ।
कोरलानाकास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले कार्यालयबाट पहिलोपटक भिसा लगाएर १३ जना जनप्रतिनिधिको टोली कोरलानाका हुँदै एक साताका लागि चीन गएका बताउनुभयो । नेपाल प्रवेश गर्ने चिनियाँ र अन्य मुलुकका नागरिकका लागि एक सय ५० दिनको ‘अनअराइभल भिसा’ निःशुल्क उपलब्ध गराउनेछ । सरकारले उपल्लो मुस्ताङ प्रवेश गर्ने विदेशी नागरिकका लागि पाँच सय डलर प्रवेश शुल्क तोकेकाले चुुनौतीका रूपमा रहेको छ ।