

जनकपुरधाम । सिरहाको गोलबजारमा एक जना महिलाको हत्या भएको छ । उनका पति घाइते अवस्थामा फेला परेका छन् । गोलबजार नगरपालिका ६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिताकुमारी साहको गएराति हत्या भएको हो ।
सिलौटो ढुंगाले हानेर उनको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । सिरहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यका अनुसार अनिताको अनुहारमा ढुंगाले हिर्काएको जस्तो चोट देखिएको छ । अनिताको शव सुत्ने खाट नजिकै फेला परेको थियो । घाइते रहेका उनको पतिको उपचार भइरहेको छ । साह दम्पती गत एक वर्षदेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका थिए ।
घटनस्थलमा प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ । यस्तै घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रण लिइएको एसपी आचार्यले बताउनुभयो । धनुषाको लालगडबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।