दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो, सामा चकेवा । तराई–मधेसमा प्रत्येक साँझ अहिले धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ । यो पर्व कात्तिक महिनाको द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । द्वितीया तिथिका दिन दिदीबहिनीले यो पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन छ ।
पूर्वी तराई र मधेस प्रदेशको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् । छठ पर्वको खरना (पञ्चमी) का दिन मूर्तिहरूलाई सेतो बनाउनका लागि अरूवा चामलको लेपन गरिन्छ । त्यसपछि सुहाउँदो र इच्छानुसारका रङ्गहरू प्रयोग गरी सामालाई सिंगारिन्छ । हरिबोधिनी एकादशीभन्दा पूर्व सम्पूर्ण सामग्री बनाई सकिन्छ । तराई भेगमा घरघरमा माटोको मूर्तिहरू बनाउनुलाई महिलाको मूर्तिकलाप्रतिको चाख र कौशल प्रदर्शन गर्ने माध्यमको रूपमा पनि लिइन्छ । दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । यो पर्व बालिकाहरूको भए पनि युवती र प्रौढहरू उत्साहपूर्वक खेल्ने गरेको देखिन्छ ।
छठ पर्वको खरना वा पारणदेखि तराईका महिलाले माटोको आकृति बनाई राति एउटा ढक्कीमा राखी दीप बालेर घरबाट बाहिर अन्य साथी मिलेर गीत गाउँदै चौरमा गइ यो पर्व मनाउने गर्दछन् । यो पर्वमा ‘सामा’ स्त्री पात्र अर्थात् दिदीबहिनी र ‘चकेवा’ पुरूष पात्र अर्थात् दाजुभाइलाई बुझाउँछन् । दुईटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । यसमा सामा चकेवालगायत चुगला वा चुक्ली (कुरौटे), ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र बृन्दावनलगायतका पात्र हुन्छन् ।
सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् । परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने प्रवृत्तिका मानिसको प्रतीक ‘चुगला’ र कुचोको मसाल बनाई गाउँ/टोल घुमाउँदै सार्वजनिक स्थलमा लग्छन् । त्यहाँ पहिले कुचोको मसालमा आगो बाल्ने र त्यसपछि त्यही मसालबाट चुगलाको जुँगामा आगो सल्काइ ढडाउने चलन छ । कुरौटे र फटाहा प्रवृत्तिका व्यक्तिले समाजमा जरा गाड्न नपाओस् भन्ने सन्देश दिन र समाजमा दाजुभाइको सम्बन्ध सधैँ सुमधुर बनाइराख्न चुक्ली (कुरौटे) लगाउने प्रवृत्तिका मानिसको प्रतीक ‘चुगला’को जुँगा ढडाउने गरिन्छ ।
सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी–बहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिलाई चलायमान गरी सम्बादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला बृन्दावनमा आगो लगाउँछिन् र कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् । डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यतिबेला जीवन्त भएर आउँछन्, जब महिला त्यसलाई पात्रका रूपमा उभ्याएर गीति सम्बाद बोल्छन् ।
यो गीतमा बहिनीले भाइलाई हजाममार्फत पत्र पठाउँछिन् । भाइ पत्र पाउनेबित्तिकै घोडामा सवार भई सिन्दुर र टिकुलीसहित बहिनी पूर्वी तराई र मधेस प्रदेशका दिदीबहिनीले सामा चकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोहीअनुरुप यस पर्वमा टाढाटाढाबाट दिदीबहिनी सामा चकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् ।
यसरी सुरु भयो सामा चकेवा पर्व तराई मधेसमा सामा चकेवाको प्रचलन प्राचीनकालदेखि नै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्म पुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसंगको मार्मिक क्षणजस्ता गीति सम्वाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना छ । पुराणमा श्यामा र बुन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन् । तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झूटा कुराहरू लगाइदिन्छ । त्यसपछि कृष्णले आफ्ना छोरी श्यामाको अस्तित्त्व माथि शङ्का गरी चरी बन्ने सराप दिन्छन् । चारुबक्य श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा–चकेवीको रूपमा बृन्दावनमा बस्न थाल्छन् । यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाउन बृन्दावन गई तपस्या गर्न थाल्छन् । श्यामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखिदिनुका साथै सबैले चुगलाको मुख झोस्नेछन् भनि दिएको सरापबाट रिसाएर चूडकले बृन्दावनमै आगो लगाइदिन्छ । आगो लगाएकै बेला बृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रूख ढल्दा चूडक किचिएर मर्छ । यसपछि भगवान् विष्णु साम्बाप्रति खुसी भई श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिन्छन् ।
यसरी सोही दिनदेखि ‘सामा–चकेवा’को पर्व प्रचलित भएको मान्यता रहिआएको छ । सामा–चकेवा पर्वमा श्यामा र चारुबक्यको चरारूपमै पूजा गर्ने गरिन्छ । भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भई सामा र चकेवा नाम प्रचलित हुन गएको हो । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ । स्कन्द पुराणमा पनि सामा चकेवाको कथा सम्प्रसङ्ग उल्लेख गरिएको छ । यसअनुसार श्यामा (सामा) र चकेवा पति–पत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा वस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कृष्ण कहाँ गई चुक्ली लगाए–श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे ! कृष्ण रिसाएर श्राप दिई चरा बनाइदिए । भाइ शाम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कात्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा) को पूर्वरूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ । यता चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे । चरा भएकी पत्नी सामासँग बस्न थाले । त्यसै क्रममा उनीहरूको बास रहेको बृन्दावनमा विरोधीले आगो लगाए । उठीबास गर्न धेरै प्रयत्न गरे तर अन्ततः आफ्नो तपस्या र पराक्रमले उनीहरू पुनः मानव रूपमा अवतरण भएको आख्यान रहेको छ ।
द्वापरयुगदेखि चली आएको सामा–चकेवा पर्व केवल मधेस प्रदेशमा मात्र होइन, नेपालका पूर्वी तराईका भेगका थारु जनजातिले पनि हर्षाेल्लास र विशेष उत्साहका साथ मनाउने गर्दछन् । हरेक वर्ष छठ पर्वको एक दिन अघिदेखि पूर्णिमासम्म नियमित नौ दिन दाजुभाइ हुने र नहुने दिदीबहिनीहरुले आफ्ना दाजुभाइको लामो आयु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यो पर्व मनाउने गरिन्छ । पूर्णिमाका तिथिमा नजिकैको पोखरी वा नदीमा सामा चखेवा भसाउने (विसर्जन) गरेपछि यो लोकपर्वको समापन गरिन्छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद रहेको यो पर्वमा पारिवारिक जीवन तथा लोक आस्थाको अटुट सम्बन्ध देखिन्छ ।