अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ । जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा गर्दै उहाँलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी भइरहेको ह्वाइट हाउसले जनाएको छ ।
एसिया भ्रमणको दोस्रो चरणमा जापान आइपुग्नुभएका राष्ट्रपति ट्रम्पले ताकाइचीसँगको भेटमा जापानलाई ‘सबैभन्दा बलियो सहयोगी’ भन्दै व्यापार र सुरक्षामा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो । “हामी सबैभन्दा उच्च स्तरका सहयोगी हौँ र तपाईंसँग काम गर्न पाउनु मेरो लागि सम्मान हो”, ट्रम्पले ताकाइचीलाई सम्बोधन गर्दै भन्नुभयो । ताकाइचीले थाइल्यान्ड–कम्बोडिया युद्धविराम र गाजा सम्झौतामा ट्रम्पको प्रयासलाई ‘ऐतिहासिक उपलब्धि’ भन्दै प्रशंसा गर्नुभयो । उहाँले जापान–अमेरिका गठबन्धनलाई ‘बलियो र समृद्ध स्वर्ण युग’ मा रूपान्तरण गर्ने दृढता व्यक्त गर्नुभयो ।
दुवै नेताले महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वीको आपूर्ति शृङ्खला सुदृढ पार्ने सम्झौतामा हस्ताक्षर गर्नुभयो । यो सम्झौता चीनले दुर्लभ पृथ्वी उद्योगमा लगाएको प्रतिबन्ध र अमेरिकी आयातमा ट्रम्पले घोषणा गर्नुभएको १०० प्रतिशत करको प्रतिक्रियामा आएको हो । ट्रम्पले जापानी खेलाडी ओहतानी र यामामोटोको वल्र्ड सिरिज खेल हेर्दा ढिलो भएको भन्दै क्षमायाचना पनि गर्नुभयो । मलेसियाको भ्रमणपछि र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको दक्षिण कोरियाली वार्ताअघि टोकियो आइपुग्नुभएका ट्रम्पको यो भेटले व्यापार तनाव घटाउने आशा जगाएको छ ।
टोकियो विश्वविद्यालयका प्राध्यापक यी कुआङ हेङका अनुसार ताकाइचीले रक्षा बजेट कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई प्रतिशतमा पुर्याउने लक्ष्य अगाडि सारेर अमेरिकाको दबाब घटाउने प्रयास गर्नुभएको छ । जापानमा करिब ६० हजार अमेरिकी सैनिक तैनाथ छन् र वासिङ्टनले टोकियोलाई अझ बढी खर्च गर्न आग्रह गरेको छ । ताकाइचीले गत हप्ता प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएको थियो । उहाँले चीनसँग बढ्दो तनावबीच जापानले बलियो रक्षा नीति अवलम्बन गर्ने बताउनुभएको छ । ट्रम्पले मङ्गलबार योकोसुकास्थित अमेरिकी विमानवाहक जहाज युएसएस जर्ज वासिङ्टनमा सैनिकहरूलाई सम्बोधन गर्ने र टोयोटाका अध्यक्षसहित व्यापारिक नेताहरूसँग रात्रिभोज गर्ने कार्यक्रम छ । अमेरिकामा जापानी आयातमाथि अहिले १५ प्रतिशतसम्म भन्सार शुल्क लगाइएको छ । यसले सेप्टेम्बरमा अमेरिकी कार निर्यातमा २४ प्रतिशत गिरावट ल्याएको छ । जापानको कार उद्योगले देशको करिब आठ प्रतिशत रोजगारी प्रदान गर्छ ।
ह्वाइट हाउसका अनुसार जुलाईमा तय गरिएको व्यापार सम्झौता अन्तर्गत जापानले अमेरिकामा पाँच खर्ब ५० अर्ब डलर लगानी गर्नेछ । पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग ट्रम्पको घनिष्ठ सम्बन्ध रहेकाले ताकाइचीका लागि नयाँ सम्बन्ध स्थापनामा चुनौती हुने अनुमान गरिएको छ । ट्रम्पले ताकाइचीलाई ‘मेरो मित्र आबेका महान उत्तराधिकारी’ भन्दै प्रशंसा गर्नुभएको छ । अब ट्रम्पको मुख्य लक्ष्य चीनसँगको व्यापार सम्झौता हो । उहाँले बिहीबार दक्षिण कोरियामा राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटवार्ता गर्ने तयारी गर्नुभएको छ र त्यसपछि उत्तर कोरियाली नेता किम जोङ अनसँग सम्भावित भेटको सङ्केत दिनुभएको छ ।