

काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेर मन्त्रिमण्डल पुनगठन गरेसँगै गठबन्धनमा आबद्ध ४ दलबीच ८ बुँदे सहमति भएको छ । चार दलबीच आज साँझ ८ बुँदे सहमति भएको हो । यो सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष नेकपा (माओवादी केन्द्र) को पोल्टामा परेको छ । उपाध्यक्ष नेकपा (एमाले)ले लिने सहमति पत्रमा उल्लेख छ ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षले संयुक्त रुपमा जारी गरेको ८ बुँदे सहमति पत्रमा रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ । यस्तै गठबन्धनका दलहरुबीच मन्त्रालय आपसी समन्वयमा बाँटफाँट गर्ने र शान्ति प्रक्रियाका काम टुंग्याउनेसहितका समझदारी भएको छ । आज प्रधानमन्त्री दाहालले माओवादी केन्द्रका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ । सबै मन्त्रीहरुले सपथ लिइसकेको र विभाग भने तोकिने बाँकी छ ।