लक्ष्मीपूजाको छैटौँ दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका दिनदेखि सुरु हुने छठपर्व नजिकिँदै गर्दा विभिन्न स्थानका स्थानीय बजारहरूमा किनमेलको चहलपहल बढेको छ । साप्ताहिक हटियामा शुक्रबार बिहानदेखि नै छठ पूजाका सामग्री किन्ने भक्तजनहरूको ठूलो भीड देखिएको छ ।

बाँस, माटो, फलफूल र हरियो तरकारीसहितका सामान खरिद गर्न आएका श्रद्धालुहरूका कारण बजार दिनभरै खचाखच रहेको थियो । छठपर्वका लागि आवश्यक बाँसका कोनिया, ढाकी, नाङ्लो, माटोका हात्ती, दियोलगायत सामग्रीका साथै केरा, नरिवल, उखु, भोगटे, हरियो बोडी, मुला, अदुवाको बोट र अन्य पूजा सामग्रीको बिक्री व्यापक रूपमा भएको छ ।

व्यापारीहरूले पनि यो पर्वलाई लक्षित गर्दै पर्याप्त मात्रामा सामग्री भण्डारण गरेका छन् । सिरहा,बारा ,पर्सा, धनुषा, सप्तरी, महोत्तरी, सर्लाही,सुनसरी ,मोरंग लगायत जिल्लाहरू सहित मुलुक भरि नै अहिले छठपर्वको रौनक फैलिएको छ । बजारहरू रङ्गीन वस्तु, पूजा सामग्री र पारम्परिक मिठाइहरूले सजिएका छन् भने नदीघाट र पोखरीहरूमा बर्तालुहरूले घाट सफा गर्ने र सजाउने तयारी सुरु गरेका छन् । “छठ हाम्रो संस्कृति र आस्थाको पर्व हो । छठ पर्वमा सूर्य भगवान लाई अर्घ दिँदा मन शुद्ध र परिवार सुखी हुने विश्वास छ ।”
