

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादी शक्तिहरुले आफूलाई विश्वास नगरेको टिप्पणी गर्नुभएको छ । एमालेसँगको नयाँ समिकरण बनाएर अर्काे गठबन्धन बनाएलगत्तै प्रधानमन्त्री दाहालको काँग्रेस लक्षित यस्तो टिप्पणी आएको हो । आज काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीतिक विषयक अन्तरक्रिया कार्यक्रमाम उहाँले काँग्रेसलाई प्रतिकृयावादीको रुपमा चित्रण गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले आफूलाई प्रतिक्रियावादीहरुले धरै नै अविश्वसनीय भन्ने गरेको उल्लेख गर्दै उनीहरुले उपयोग गर्न खोजे भने कुनैपनि बेला लात्ताले हानेर निस्कने टिप्पणी गर्नुभयो । आफूलाई प्रतिक्रियावादीहरुका लागि विश्वसनीय हुन नपरेको प्रधानमन्त्री दाहालको भनाई थियो । उहाँले कम्युनिष्ट एकताको विकल्प नभएको भन्दै ‘एकतावद्ध हुनुको विकल्प छैन । माओले भनेको एकतावद्ध होउ । माक्सवाद अपनाउ, संशोधनवाद होइन भनेर भन्नुभएको छ । हामी सबैले त्यसलाई आत्मासात गर्न जरुरी छ । लेलिनले ठोस परिस्थितिको ठोस विश्लेषण अघि बढन जरुरी छ भनेर भनेको कुरालाई जरुरी छ ।
मैले भनेको छु–शान्ति प्रक्रियाका बाँकि काम टुंग्याउनेसँगै शहीद वेपत्ता योद्धाहरुलाई सम्मानित गर्ने, परिपूरण दिने, उहाँका परिवारका सदस्यलाई रोजगारी दिने क्रम पनि अगाडि बढ्नेछ । मैले त्यो संकल्प लिइसकेको छु । मलाई लाग्छ–छिट्टै त्यो संकल्प पूरा हुने दिन आउनेछ । शर्त के हो भने हामी सबै एक ठाउँमा हुनैपर्छ । क्रान्तिकारी जति सबै एक ठाउँमा हुनै पर्छ । अरु कुनै उपाय छैन । त्यसकारण यही अपिल गर्छु ।’ भन्नुभयो ।