

संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि अत्यावश्यक’ ठहर गर्दै मङ्गलबार सबै सीमा नाकाहरू खुला गर्न इजरायल र सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का मध्यपूर्व प्रवक्ता अबीर एटेफालेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “युद्धविराम कायम रहनु अत्यन्त महत्त्वपूर्ण छ; वास्तवमा यही एकमात्र उपाय हो जसले गाजाको उत्तर भागमा फैलिँदो भोकमरीलाई रोक्न र जनजीवन बचाउन सक्छ ।”
इजरायली सेनाले युद्धविराम उल्लङ्घन गरेको भन्दै गाजामा घातक हवाई आक्रमण गरेपछि अमेरिकी मध्यस्थतामा गत अक्टोबर १० देखि लागु भएको इजरायल–हमास युद्धविराम आइतबार पुनः सङ्कटमा परेको थियो ।
प्रवक्ता एटेफालेले युद्धविराम लागू भएपछि ५३० वटा डब्लुएफपी ट्रकहरूले गाजामा प्रवेश गरी करिब छ हजार ७०० टनभन्दा बढी खाद्यान्न पुर्याएको जानकारी दिनुभयो । यसबाट करिब पाँच लाख मानिसलाई दुई साताका लागि पर्याप्त खाद्य उपलब्ध गराइएको छ ।
अहिले दैनिक करिब ७५० टन खाद्यान्न गाजामा आइरहेको भए पनि यो मात्रा डब्लुएफपीको दैनिक दुई हजार टनको लक्ष्यभन्दा अझै निकै कम रहेको उहाँले बताउनुभयो । “ट्रकहरू अघि बढिरहेका छन्, गोदामहरूमा खाद्यान्न पुगेका छन् र वितरण मर्यादित तथा व्यवस्थित ढङ्गले भइरहेको छ”, प्रवक्ताले जोड दिँदै भन्नुभयो ।
हाल डब्लुएफपीले गाजामा २६ वटा खाद्य वितरण केन्द्र सञ्चालनमा ल्याएको । यो गत शुक्रबारको पाँच केन्द्रभन्दा वृद्धि भए पनि सङ्गठनले सञ्चालन गर्न चाहेको १४५ केन्द्रभन्दा अझै धेरै कम हो । अधिकांश वितरण केन्द्रहरू गाजाको दक्षिण र केन्द्र भागमा रहेका छन् ।
“जनताको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको छ”, उहाँले भन्नुभयो, “सहायता पाउँदा नागरिकहरू आभारी छन् र वितरण प्रक्रिया पनि सम्मानजनक तथा द्रुत गतिमा भइरहेको छ ।”
डब्लुएफपीले सञ्चालन गर्न चाहेका ३० मध्ये हाल नौ वटा बेकरी चलिरहेका छन्, जसका लागि पर्याप्त गहुँको पिठो सीमाबाट प्रवेश गर्न आवश्यक छ । “हामी अहिलेका अवस्थामा ५० हजार मानिसलाई ताजा रोटी वितरण गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “सबैभन्दा राम्रो कुरा के हो भने हामी सबैभन्दा कमजोर वर्गका मानिसहरू—महिला प्रमुख घरपरिवार र वृद्धहरूसम्म—सहायता पुर्याउन सक्षम भएका छौँ ।”
उहाँका अनुसार गाजाका अधिकांश नागरिक अहिले ‘बाँच्ने उपाय’ मा छन् । “उनीहरू सीमित मात्रामा प्राप्त खाद्य पदार्थ खाँदै बाँकी सुरक्षित राखिरहेका छन्, किनकि युद्धविराम कहिले भङ्ग हुने हो भन्ने चिन्ता गहिरो छ”, उहाँले भन्नुभयो ।
प्रवक्ताले डब्लुएफपीका ट्रकहरू हाल केवल केरेम शालोम र किसुफिम नाकाबाट प्रवेश गरिरहेको बताउनुभयो र गाजाका सबै सीमा विन्दुहरू, विशेषतः उत्तरतर्फका नाकाहरू तत्काल खोल्न आग्रह गर्नुभयो । “उत्तर गाजामा खाद्य अवस्थाहरू अत्यन्त डरलाग्दा छन्”, उहाँले चेतावनी दिँदै भन्नुभयो, “ती सीमा नाकाहरू कहिले खुल्ने भन्नेबारे अहिले कुनै निश्चित सङ्केत छैन ।”