३१ आश्विन २०८२, शुक्रबार

२३ लाख ८० हजार किसान सूचीकृत

Logo
Pulse Khabar मंगलबार, आश्विन २८, २०८२

काठमाडौँ, २८ असोजः किसान सूचीकरण कार्यक्रमअन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन् । अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले उक्त कार्यक्रम ल्याएको हो । राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारीसहित किसानलाई सूचीकृत गर्न थालिएको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ ।

किसानलाई सूचीकृत गरी उहाँहरूको आम्दानीको अवस्था हेरेर चार प्रकारमा वर्गीकरण गरिने केन्द्रका अधिकृत सञ्जिव पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान पहिचान गरी परिचयपत्र वितरण गरिनेछ ।

विद्युतीय सूचना प्रणालीमा किसान जोडिएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधा उपलब्ध गराउन सहज हुनेछ । “विसं २०७८ को जनगणनाअनुसार करिब ४१ लाख किसानको गणना गरिएकाले केन्द्रले पनि उहाँहरूलाई समेट्ने योजना बनाएको हो । कार्यक्रम सम्पन्न हुने समयसम्म यो सङ्ख्या केही घटबढ हुन सक्छ”, उहाँले भन्नुभयो ।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अधिकृत पण्डितका अनुसार उक्त कार्यक्रममा देशभर स्थानीय तहमार्फत किसानका सूचना सङ्कलन गरिएको हो । किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहित एकीकृत तथ्याङ्क सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले विसं २०७७ फागुनमा मन्त्रिस्तरीय बैठकबाट सुरु भएको यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानहरूलाई आग्रह गर्नुभयो । किसानको पहिचान नभएसम्म उहाँहरूले राज्यबाट दिने अनुदान र सेवासुविधा पाउन नसक्ने भएकाले आफ्नो नाम दर्ता गराउन किसानलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206