३१ आश्विन २०८२, शुक्रबार

आगजनीमा परेको बिपी स्मृति भवनमा कांग्रेसको बैठक

Logo
Pulse Khabar शुक्रबार, आश्विन २४, २०८२

काठमाडौँ:  गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा मुलुकभर विभिन्न सरकारी तथा निजी भवनमा तोडफोड, लुटपाट र आगजनी भयो । साथै नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत दलका कार्यालय र ती पार्टीका नेता तथा कार्यकर्ताका निजी निवासमा समेत तोडफोड, लुटपाट र आगजनी भएको थियो ।

आन्दोलबाट ठूलो क्षति व्यहोरेको कांग्रेसले बिहीबारदेखि आगजनीबाट ध्वस्त केन्द्रीय कार्यालयमा पार्टीे पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक आयोजना गरेको छ । बैठक शुक्रबार पनि जारी छ । आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले आगजनीबाट कांग्रेस केन्द्रीय कार्यालय ध्वस्त पारेका थिए । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आगजनीका कारण कार्यालयका कुनै पनि सामान बचेका छैनन् र आगजनीबाट केन्द्रीय कार्यालयमा मात्रै करिब रु १० करोड बराबरको क्षति भएको छ ।

बैठकमा सामसामयिक राजनीतिक विषयमा र यही असोज २६ गते बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित ‘एजेन्डा’लगायत विषयमा समेत छलफल भएको छ । जेनजी आन्दोलनपछि पार्टीको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक पहिलोपटक बसेको हो ।

आन्दोलनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवामाथि उहाँकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनाका साथै घरमा आगजनी भएको थियो ।

स्वास्थ्यलाभपछि आराम गरिरहनुुभएका सभापति देउवा बिहीबारको बैठकमा उपस्थित हुनुभएन । यद्यपि उहाँ असोज २६ गते बस्ने केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुनुहुने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । उक्त आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहससमेत सुरु भएको छ ।

पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा पदाधिकारीहरुले वर्तमान परिवेशमा भएको घटनाक्रमले उत्पन्न राजनीतिक र पार्टीगत चुनौतीको सामना गर्नुपर्नेलगायत विषयमा धारणा व्यक्त गर्नुभएको थियो । साथै पार्टीलाई विशेष परिवेशमा कसरी अगाडि बढाउने भनेर छलफल भएको र समयमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय बैठकमा उठेको प्रवक्ता डा महतले जानकारी दिनुभयो ।

राष्ट्रिय र निजी सम्पत्तिमाथि आगजनी, तोडफोड तथा लुटपाट गर्नेलाई कारबाही नगरेसम्म निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठने कांग्रेसको भनाइ छ । आन्दोलनपछि बनेको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा कांग्रेसका देशभरका ९५ नेता तथा कार्यकर्ताका निवासमा क्षति पु¥याइएको र ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेता कार्यकर्ताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206