२० मंसिर २०८२, शनिबार

सिरहाको नर्गीमा ५३ दलित परिवार अझै पनि शौचालयविहीन

Logo
Pulse Khabar शुक्रबार, आश्विन १०, २०८२

सिरहा, १० असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१ नर्गीस्थित चार दलित बस्ती आजसम्म पनि शौचालयविहीन छन्। खडौरिया, लबटोली, अस्पतालटोल र थानटोलमा रहेका करिब ५३ घरपरिवारमध्ये कुनै पनि घरमा शौचालय छैन।

शौचालय नहुँदा बासिन्दा करिब एक किलोमिटर टाढा रहेको कल्याणदह खोलाको किनारमा शौच गर्न जान बाध्य छन्। स्थानीयवासीका अनुसार आर्थिक अभाव, जग्गाको कमी र जनचेतनाको अभाव मुख्य कारण हुन्। ऐलानी जमिनमा बसोबास गर्ने भएकाले परिवारसँग शौचालय निर्माण गर्न ठाउँसमेत छैन।

५० वर्षीय हरिचन्द्र सदाय भन्छन्, “बाबुबाजेको पालादेखि खुला ठाउँमै शौच गर्दै आएका छौँ, अवस्था अहिले पनि उस्तै छ।” त्यस्तै अनितादेवी सदायले भनिन्, “घरकै लागि जमिन छैन, शौचालय कसरी बनाउने ?”

शौचालय मात्र नभई बस्तीमा खानेपानीको पनि गम्भीर समस्या छ। खडौरियामा पाँचवटा हातपम्पबाट २३ घरले पानी प्रयोग गर्दै आएका छन् भने लबटोलीमा एउटा मात्रै हातेपम्प छ। अस्पतालटोल र थानटोलका बासिन्दा अझै टाढाबाट पानी ल्याउन बाध्य छन्।

बरियारपट्टी गाउँपालिकाका वडाध्यक्ष देवेन्द्र यादवका अनुसार सामुदायिक शौचालय बनाउनसमेत सार्वजनिक जमिन नहुँदा समस्या देखिएको छ। “यो विषयमा गाउँपालिकामा छलफल भएको छ, चाँडै समाधानको बाटो खोजिनेछ,” उनले भने ।

सरकारले खुला दिसामुक्त राष्ट्र घोषणा गरिसके पनि नर्गीका दलित बस्ती अझै शौचालयविहीन हुनु गम्भीर विषय बनेको छ । बरियारपट्टी गाउँपालिका उपाध्यक्ष ममताकुमारी यादवले हुलाकी सडक नजिकैको यस्तो बस्तीमा अझै शौचालय नहुनु लज्जास्पद भएको भन्दै समस्यालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीले खुला दिसाका कारण स्वास्थ्य जोखिम, महिलाको सुरक्षा समस्या र बालबालिकामा रोग फैलिने त्रास बढेको भन्दै सरकार र सम्बन्धित निकायलाई स्थायी तथा दिगो समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206