काठमाडौँ, ४ असोज। अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमीका दिन विभिन्न देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।
समितिको आज बसेको बैठकले विदेशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको जिज्ञासा समाधान गर्न स्थानीय समयअनुसार साइत तोकेको हो। समितिका सदस्य–सचिव आचार्य लक्ष्मण पन्थीले तिथ्यादि मिलाएर सम्बन्धित देशअनुसार साइत निर्धारण गरिएको जानकारी दिनुभयो।
नेपालमा असोज १६ गते बिहान ११ः५३ बजे टीकाको उत्तम साइत तोकिएको छ। भारतको दिल्लीमा सोही दिन बिहान ११ः४९ बजे टीका लगाउन सकिनेछ। अमेरिकामा भने राज्यअनुसार फरक साइत तोकिएको छ—न्युयोर्कमा अक्टोबर १ गते बिहान ११ः२५, फ्र्याङ्कर्फट (केन्टुकी) मा ११ः५७, वोवेन्स्वोरो (केन्टुकी) मा ११ः०५, टेक्सासमा ११ः३३, वासिङ्गटन डिसीमा ११ः३५, क्यालिफोर्नियामा ११ः११ र कोलोराडोमा ११ः२९ बजे टीकाको साइत शुभ रहनेछ।
क्यानडामा टोरन्टोमा अक्टोबर १ गते बिहान ११ः५५ र भ्यानकुभरमा ११ः३३ बजे साइत तोकिएको छ। जापानको टोकियोमा अक्टोबर २ गते बिहान ११ः३१ बजे शुभ रहनेछ। अष्ट्रेलियामा—सिड्नीमा ११ः४३, मेलबर्नमा ११ः१९, व्रीसवेनमा ११ः५३, एडिलेडमा ११ः३५, क्यानबेरामा ११ः५१, तास्मानियामा ११ः४५, पर्थमा ११ः२५ र डार्बिनमा ११ः४७ बजे साइत तोकिएको छ।
न्यूजिल्यान्डको बेलिङ्गटनमा अक्टोबर २ गते बिहान ११ः२३ बजे टीका लगाउन सकिनेछ। युरोपमा—लिस्बन (पोर्चुगल) मा ०९ः२३, लण्डन (बेलायत) मा ०९ः१७, पेरिस (फ्रान्स) मा ०९ः५७, ओस्लो (नर्वे) मा १०ः०३, जेनेभा (स्विट्जरल्याण्ड) मा १०ः२५ बजे साइत तोकिएको छ।
एशियाली मुलुकहरूमा—क्वालालम्पुर (मलेसिया) मा ११ः११, सिङ्गापुरमा ११ः०९, हङ्कङमा ११ः४५, बैंकक (थाइल्याण्ड) मा १०ः४५, सियोल (दक्षिण कोरिया) मा १०ः५७, याङ्गून (म्यानमार) मा १०ः२७, तेल अभिभ (इजरायल) मा ११ः३५, दोहा (कतार) मा १०ः१३, अबुधाबी (युएई) मा १०ः५५ र साउदी अरेबियामा पनि १०ः५५ बजे शुभ साइत तोकिएको समितिले जनाएको छ।