इजरायली ड्रोनद्वारा लेबनानमा संयुक्त राष्ट्र शान्ति सेना नजिक ग्रेनेड प्रहार
Pulse Khabar बुधबार, भाद्र १८, २०८२
इजरायली ड्रोनहरूले दक्षिणी लेबनानमा इजरायलसँगको सीमा नजिकै संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको नजिक चार ग्रेनेड खसालेका छन् । शान्ति सेना सडक अवरोध हटाउने कार्यमा संलग्न रहँदा गरिएको उक्त आक्रमणमा कोही पनि घाइते नभएको लेबनानी सेनाले बुधबार जनाएको छ । युनिफिलका नामले चिनिने संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनले मङ्गलबार बिहानको घटनालाई गत नोभेम्बरमा १४ महिनासम्म चलेको इजरायल–हिजबुल्लाह युद्धको अन्त्यपछि ‘शान्ति सेना र उनीहरूको सम्पत्तिमाथि भएको सबैभन्दा गम्भीर आक्रमण’ भनेको छ ।
इजरायली सेनाले भने यसबारे तत्काल कुनै टिप्पणी गरेको छैन । – शान्ति सेनामाथि प्रत्यक्ष खतराः युनिफिल – युनिफिलका अनुसार इजरायली ड्रोनहरूले शान्ति सेनाको नजिकै चार ग्रेनेड खसालेका थिए । ती सैनिकहरू सीमा क्षेत्रमा रहेका संयुक्त राष्ट्रसङ्घीय स्थितिमा पहुँच सहज बनाउन अवरोध हटाइरहेका थिए । एउटा ग्रेनेड २० मिटर भित्र र अन्य तीन करिब एक सय मिटर दूरीमा राष्ट्रसङ्घका कर्मचारी तथा सवारीसाधन नजिकै खसेका थिए । त्यसपछि ड्रोनहरू इजरायलतर्फ फर्किएको देखिएको छ । मारवाहिन गाउँको दक्षिणपूर्वी क्षेत्रमा शान्ति सेनाका लागि सडक खाली गर्ने कार्यबारे इजरायली सेनालाई पहिल्यै जानकारी दिइएको युनिफिलले जनाएको छ । तर घटनापछि सुरक्षाका कारण काम स्थगित गरिएको छ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्को निर्णयपछि आक्रमण – गत हप्ता संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अमेरिका र इजरायलको दबाबमा पाँच दशकपछि अर्को वर्षको अन्त्यमा दक्षिणी लेबनानमा युनिफिल मिसन समाप्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुरूप भएको आक्रमणले थप संवेदनशीलता सिर्जना गरेको छ ।
दशकौँदेखि बहुराष्ट्रिय शान्ति सेनाले दक्षिणी लेबनानमा इजरायल–हिजबुल्लाह द्वन्द्वसहितको सुरक्षा अवस्थामाथि निगरानी गर्दै आएको छ । तर यस मिसनप्रति दुवै पक्षबाट आलोचना हुँदै आएको छ । विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीहरूले यसलाई आफ्नो विदेश नीतिको पुनःसंरचनासँगै अमेरिकाको कोष कटौतीको कारण देखाएका थिए । युद्धको मानवीय मूल्य – विश्व बैंकको तथ्याङ्कअनुसार इजरायल–हिजबुल्लाह युद्धमा लेबनानमा सयौँ नागरिकसहित चार हजारभन्दा बढीले ज्यान गुमाए भने ११ अर्ब डलर बराबरको क्षति भएको थियो । इजरायलमा ८० जना सैनिकसहित एक सय २७ जनाको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन – युनिफिलले राष्ट्रसङ्घीय शान्ति सेना र उनीहरूको सम्पत्तिमाथि खतरापूर्ण आक्रमण वा उनीहरूको कार्यमा अवरोध पु¥याउने कुनै पनि गतिविधि अस्वीकार्य रहेको बताएको छ । यस्तो कार्य अन्तर्राष्ट्रिय कानून र युद्धविराम प्रतिबद्धताको गम्भीर उल्लङ्घन हो । शान्ति सेनाको सुरक्षा सुनिश्चित गर्नु इजरायली सेनाको प्रत्यक्ष जिम्मेवारी भएको पनि युनिफिलले स्पष्ट पारेको छ ।