पुटिनद्वारा युक्रेन आक्रमणको बचाउ गर्दै पश्चिमलाई दोषारोपण
Pulse Khabar सोमबार, भाद्र १६, २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चीनमा आयोजित शिखर सम्मेलनमा आफ्ना सहयोगीहरूसमक्ष युक्रेनमाथिको आक्रमणको बचाउ गर्दै पश्चिमी मुलुकलाई साढे तीन वर्ष लामो युद्ध सुरु गराएको आरोप लगाउनुभएको छ । यस युद्धले दशौँ हजार मानिसको ज्यान लिएको छ र पूर्वी युक्रेनका धेरै क्षेत्र ध्वस्त पारिएका छन् । पुटिनले भन्नुभयो, “यो सङ्कट रुसले युक्रेनमाथि आक्रमण गर्दा उत्पन्न भएको होइन, बरु युक्रेनमा भएको कूको परिणाम हो, जसलाई पश्चिमी देशहरूले समर्थन र उक्साएका थिए ।” उहाँले सन् २०१३–२०१४ को युरोपेली क्रान्तिको सन्दर्भ दिँदै त्यतिबेला रूसी समर्थक राष्ट्रपतिलाई हटाइएको बताउनुभयो । त्यसपछिको प्रतिक्रियामा मस्कोले क्रिमियन प्रायद्वीपलाई आफ्नो क्षेत्रमा मिलायो र पूर्वी युक्रेनमा रुसी समर्थक पृथकतावादीलाई समर्थन दियो, जसले गृहयुद्ध भड्कायो ।
रूसी राष्ट्रपतिले भन्नुभयो, “सङ्कटको अर्को कारण भनेको युक्रेनलाई नाटोमा तान्ने पश्चिमी मुलुकहरूको निरन्तर प्रयास हो ।” पुटिनले साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा बोलिरहनुभएको थियो । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायतका सहयोगी नेताहरू सहभागी हुनुहुन्थ्यो । मस्को र बेइजिङले एससिओलाई नाटोसहित पश्चिमी नेतृत्वको राजनीतिक तथा सुरक्षा ब्लकको विकल्पका रूपमा लिएका छन् । पुटिनले विश्वलाई अब ‘पुरानो युरोकेन्द्रित र युरो–एटलान्टिक मोडेलको सट्टा विभिन्न देशहरूको हितलाई ध्यानमा राख्ने प्रणाली’ आवश्यक भएको बताउनुभयो । उहाँले चीन, भारत र अन्य रणनीतिक साझेदारहरूले अघि सारेका प्रस्ताव र प्रयासलाई युक्रेन सङ्कट समाधानमा महत्त्वपूर्ण योगदानका रूपमा मूल्याङ्कन गर्ने बताउनुभयो । यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न मस्को र किएभ दुवैलाई सम्झौतामा आउन आग्रह गर्नुभएको छ ।
तर शान्ति प्रस्ताव हालसम्म रोकिएको छ । पुटिनले युद्धविरामको आह्वानलाई अस्वीकार गर्दै युक्रेनलाई थप भू–भाग त्याग्न र पश्चिमी समर्थन परित्याग गर्नुपर्ने माग राख्नुभएको छ । किएभले भने आफूहरूले युद्ध सुरु नगरेको दाबी गर्दै ती मागलाई अस्वीकार गरेको छ । रूसी राष्ट्रपति पुटिनले द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास र हालै अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएका वार्ताबारे शृङ्खलाबद्ध द्विपक्षीय बैठकमा छलफल गर्ने बताउनुभएको छ । उहाँले सोमबार पछि भारतीय प्रधानमन्त्री मोदी, इरानी राष्ट्रपति पेजेस्कियान र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग छुट्टै वार्ता गर्ने तयारीसमेत गर्नुभएको छ ।