

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता प्राप्त गरेपछि सपथ लिएको कार्यालय एमाले मोरङ पार्टी कार्यालयमा पुगेर एमालेले मात्रै राष्ट्रिय हितको रक्षा गर्ने भन्दै पार्टीकै सदस्यका रुपमा काम गर्ने बताएकी छिन् । उनले पार्टीले नै दिएको जिम्मवारीका रुपमा दुई कार्यकाल राष्ट्रपतिको पदभार सम्हालेको भन्दै उनले कार्यकाल सकिएपछि पुन पार्टी सदस्यता नवीकरण गरेर पार्टी काममा फर्किएको बताइन् । आज विराटनगरबाट काठमाडौं फर्किने क्रममा पार्टी कार्यालय विराटनगर भ्रमण गर्दै उनले पार्टी सदस्यता नवीकरण भइसकेको दावी गरिन् ।
भण्डारीले राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउन आर्थिक आत्मनिर्भरता अपरिहार्य रहेको बताइन् । उनले भनिन्, “राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी कार्यालयमा आउन पाइनँ, तर पदबाट निस्किएपछि पार्टी सदस्यता नवीकरण गरेर सक्रिय भएकी छु ।”
४५ वर्षअघि विराटनगरमै एमाले सदस्यता लिएको स्मरण गर्दै उनले मोरङलाई आफ्नै गृहजिल्ला भएको उल्लेख गरिन् ।
पार्टी कार्यालय पुग्दा उनलाई केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राईसहितका नेताले स्वागत गरेका थिए । भण्डारीले पार्टी परिसरमा रहेको मदन भण्डारी, पुष्पलाल श्रेष्ठ र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिकमा माल्यार्पण पनि गरिन्।