२४ भाद्र २०८२, मंगलबार

दक्षिण एसियाकै दोश्रो ठुलो राधाकृष्ण रथयात्रा आज, लाखौँले दर्शन गर्ने

Logo
Pulse Khabar आइतबार, भाद्र ०१, २०८२

विराटनगर । विराटनगरको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा चिनिने श्रीराधाकृष्ण रथयात्रा आज भव्य रूपमा निकालिँदैछ । तीनपैनीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट दिउँसो ४ बजे सुरु हुने रथयात्राले नगरको विभिन्न भाग परिक्रमा गर्दै पुनः मन्दिरमै पुग्नेछ ।

यस वर्षको रथयात्रामा करिब ९ किलोमिटर लामो नगर परिक्रमा गरिनेछ। रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोडशेष चोक हुँदै बरगाछी पुगेर पुनः मन्दिर फर्किने कार्यक्रम तय भएको व्यवस्थापन समितिले जानकारी दिएको छ। यात्रा अवधिमा ४३ स्थानमा रथले विश्राम लिनेछ ।

ऐतिहासिक पृष्ठभूमि

विराटनगर–१ पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट करिब ९४ वर्षअघि खटयात्रा प्रारम्भ भएको थियो। विक्रम संवत १९८८ सालमा पहिलो पटक भगवान श्रीराधाकृष्णको मूर्तिलाई काँधमा बोकेर खटयात्रा निकालिएको थियो। सुरुवाती ३७ वर्षसम्म खटयात्रा चलिरहे पनि वि.स. २०२५ सालदेखि खटयात्रालाई आधुनिक रथयात्रामा रूपान्तरण गरिएको हो। त्यसयता हरेक वर्ष रथ र खट दुबैको परिक्रमा हुने परम्परा चल्दै आएको छ।

कोरोना महामारीका कारण २०७७ र २०७८ सालमा रथयात्रा स्थगन गर्नुपरेको थियो। सो क्रममा औपचारिकता मात्र निर्वाह गर्दै गाडीमा खट राखेर बजार परिक्रमा गराइए पनि भक्तजनलाई जानकारी दिइएको थिएन। २०७९ सालमा झाँकीविहीन रथयात्रा निकालिएको थियो भने यसपटक पुनः भव्य झाँकीसहितको यात्रा हुने भएको छ।

सांस्कृतिक आकर्षण

रथयात्रा सुरु हुनुअघि करिब एक किलोमिटर लामो झाँकी ¥याली प्रदर्शन गरिनेछ। यसमा विभिन्न जातजातिका सांस्कृतिक नृत्य, भजनमण्डलीका प्रस्तुति, र धार्मिक झाँकीहरू समावेश हुनेछन्। जातीय, भाषिक तथा धार्मिक विविधता बोकेको विराटनगरमा यो रथयात्रा सबै समुदायको साझा पर्वका रूपमा मनाइन्छ।

यस वर्ष पनि परम्परानुसार हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने तयारी गरिएको आयोजक समितिले जनाएको छ। यसका लागि आवश्यक समन्वय मिलाइसकिएको छ। समितिका अध्यक्ष रेग्मीका अनुसार रथयात्रा सर्वसाधारणका लागि दर्शन र सहभागिताको अवसर मात्र नभई सामाजिक सद्भाव, एकता र धार्मिक आस्थाको प्रतीकका रूपमा अघि बढाइनेछ।

धार्मिक विश्वास

रथको डोरी छुँदा मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक जनविश्वास छ। त्यसैले रथयात्रामा भक्तजनले डोरी तान्न तँछाडमछाड गर्ने गरेका छन्। श्रद्धालुहरू आ–आफ्ना व्यक्तिगत, पारिवारिक र सामाजिक कल्याणको कामना गर्दै रथ तान्न सहभागी हुने गर्छन्।

विराटनगरको परिचयमा योगदान

विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग गाँसिएको यो रथयात्राले शहरको सामुदायिक एकतालाई प्रबलीकरण गर्दै आएको छ । विक्रम संवत १९७६ सालमा साबिकको ग्रोग्राहा गाउँलाई विराटनगर नामकरण गरिएयता वि।सं। १९८८ सालमा पहिलोपटक निकालिएको खटयात्राले अहिले विराटनगरको पहिचानकै एउटा महत्वपूर्ण अंश बनेको छ ।

सांस्कृतिक परम्पराको निरन्तरतासँगै धार्मिक आस्थाले गाँसिएको यो रथयात्रा आज पनि भव्य ढंगले सम्पन्न हुने विराटनगरवासीले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206