

धरान । तीनदिनदेखिको अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्याएको छ । पहिरोको कारण १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् ।
राति करिब १ः३० बजे खसेको पहिरोले धरान–३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुयाएको छ । भोटेले राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लागेर बाहिर निस्किएर हेर्दा पहिरो खसिरहेको देखेको बताए । हेर्दाहेर्दै घरको माथिल्लो भाग पुरियो र घर पूर्ण रूपमा क्षति भएको उनले जानकारी दिए ।
स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए । घटनापछि तत्कालै घटनास्थल पुगेर धरान उपमहानगरपालिका–३ का वडासदस्य मिङ्मा भोटेले वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहकार्यमा पर्खाल निर्माणलगायतका काम गरिने बताए ।
उनले त्यहाँ १२ भन्दा बढी घर उच्च जोखिममा रहेको बताए । वडा कार्यालयले हाल क्षतिको विवरण सङ्कलन गरिरहेको वडाध्यक्ष भोटेले बताए। गत वर्ष धरान–३ को सोही क्षेत्रमा पहिरो जाँदा बस्ती जोखिममा परेको थियो ।
त्यसबेला वडाबाट ५ लाख र नगरपालिकाबाट १४ लाख रुपैयाँ बजेट विनियोजन गरी पहिरो रोकथाम गरिएको थियो ।