

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डललाई बर्खास्त गर्न माग गरेका छन् । आज कोशी प्रदेश सभाको बैठकको विशेष समयमा बोल्दै आङ्बोले मण्डलले घुस मागेको प्रमाण रहेको भन्दै बर्खास्त गर्न माग गरे ।
सदन र सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा मन्त्री मण्डलले आफ्ना सचिवालयका कर्मचारीमार्फत घुस रकम माग गरेको प्रमाण हुँदाहुँदै नैतिकताका आधारमा मन्त्री मण्डलले राजीनामा दिनुपर्ने तर्क पेस उनले पेश गरेका छन् ।
नेता आङ्बोले सरकारसमक्ष पर्यटन वर्ष उद्घाटनमा भएको खर्च पर्यटन, वन तथा वातावरण मन्त्रालयले चेकमार्फत रकम भुक्तानी नगरी वसन्तपुर र धनकुटाका होटेलहरुको खर्च नगदमार्फत भएको भुक्तानी अपारदर्शी भएको बताए ।
उनले खानेपानी र सिँचाइ मन्त्रालयअन्तर्गत विकास निर्माणको कामको भुक्तानी दिन माग गरे । नेता आङ्बोले दलित सशक्तीकरण विधेयक ल्याउन सरकारसँग माग गरेका छन् ।
जनता समाजवादी पार्टी कोशी प्रदेशसभा संसदीय दलका नेता निर्मला लिम्बूले आमनागरिकको भावनामा ठेस पुग्नेगरी कुनै पनि विधेयक सरकारले ल्याउन नहुने बताइन् । उनले बहुविवाहका सम्बन्धमा सरकारले नयाँ व्यवस्था गर्न लागेको दाबी गर्दै त्यसको विरोध गरेकी छिन् । लिम्बूले भाषा आयोगबाट सिफारिस भएका भाषा कोशी प्रदेशमा लागू गर्न सरकारसँग माग गरिन् ।
शून्य समयमा प्रदेशसभा सदस्य गीता तिम्सिना, सपना दर्जी, शोभा चेम्जोङ, मीना श्रेष्ठ, कमला दर्नाल र मैया श्रेष्ठले पनि बहुविवाहका सम्बन्धमा पछिल्लो समय चर्चामा रहेको कानुनको विरोध गरे ।