कैलाली, १३ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । आज धनगढीमा आयोजित एक कार्यक्रममा उहाँले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ”, उहाँले भन्नुभयो, “वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।”
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले सोमबार कञ्चनपुरमा महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणाधीन नहरको अनुगमन तथा निरीक्षण गर्दै आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर रहेको बताउनुभयो । मन्त्री खड्काले आयोजनाको वर्तमान कार्यप्रगति सराहनीय रहेकाले भन्दै तोकिएको लक्ष्य हासिल गर्न अझ प्रभावकारी रूपमा काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले निरीक्षणका क्रममा महाकाली सिँचाइ आयोजना सुदूरपश्चिमको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको आयोजना भएको बताउनुभयो । “किसानको खेतमा पानी पुर्याउन सरकार पूर्ण प्रतिबद्ध छ, कुनै कमजोरी हुन दिइने छैन”, मन्त्री खड्काले भन्नुभयो । राष्ट्रिय गौरवको आयोजनालाई समयमा सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
टनकपुर ब्यारेजमार्फत प्राप्त पानी प्रयोग गरी सञ्चालनमा ल्याइएको उक्त आयोजनाले कञ्चनपुरको ब्रह्मदेव, मालाखेती, दोधारा–चाँदनी र त्रिभुवनबस्ती क्षेत्रका ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ । हालसम्म ३० किलोमिटर मूल नहर र करिब १२ किलोमिटर शाखा नहर निर्माण भइसकेको छ भने करिब ६५० हेक्टर जमिनमा सिँचाइ संरचना तयार भइसकेको छ । आयोजनाको समग्र भौतिक प्रगति हाल २४ दशमलव २२ प्रतिशत पुगेको छ भने चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ८३ दशमलव ९७ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको आयोजना कार्यालयले जनाएको छ । मन्त्री खड्काले महाकाली सिँचाइ आयोजनाजस्ता योजनाले स्थानीय उत्पादन क्षमतामा वृद्धि गरी राष्ट्रिय समृद्धिमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
“भौगोलिक दूरी, ढिलासुस्ती वा प्रविधिगत चुनौतीले हामीलाई रोक्न सक्दैन, हामी योजनाबद्ध ढङ्गले अघि बढेर लक्ष्यमा पुग्नुपर्छ”, उहाँले भन्नुभयो । निरीक्षण भ्रमणमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराललगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारी र स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो ।