मधेसमा खडेरीको असर घटाउन कृषिबाली परिवर्तन गर्नुपर्नेमा जोड
Pulse Khabar मंगलबार, साउन १३, २०८२
काठमाडौँ, १३ साउनः मधेसप्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषिबाली परिवर्तन गर्नुपर्नेले विज्ञहरूले जोड दिनुभएको छ । सोमबार सञ्चारिका समूह र एक्सन एडकद्वारा संयुक्त रूपमा अयोजना गरेको ‘जलवायु न्याय’सम्बन्धी कार्यक्रममा खडेरीको असर घटाउन कृषिबाली परिवर्तन गर्नुपर्नेमा जोड दिइएको हो । कार्यक्रमका सहभागीले मधेससहित मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा पनि खडेरीका कारण रोपाइँमा समस्या हुँदै आएकाले मौसम अनुकूल कृषिबाली लगाउनुपर्नेमा जोड दिनुभएको हो । मौसममा आएको परिवर्तनका कारण खाद्यसुरक्षा जोखिम बढ्ने आँकलनकाबीच सुक्खास्थान अनुकूल खेती गर्नुपर्ने कृषिविज्ञ डा कृष्ण पौडेलले बताउनुभयो । उहाँले मधेस तथा तराई क्षेत्रमा देखिएको खडेरीको समस्या आकस्मिक नभएको उल्लेख गर्नुभयो । पौडेलले कृषि क्षेत्रमा प्रयोग गरिएको विषादी र रसायनले माटोको उर्वर शक्ति गुमाएकाले समस्या आएको बताउँदै विषादी र रसायनको अत्यधिक प्रयोगले वातावरण तातो हुँदा हालको खडेरीको समस्या निम्तिएको धारणा राख्नुभयो । आगामी दिनमा कृषि प्रणाली परिवर्तन गरी तराई क्षेत्रको वातारण चिसो बनाउन हरियाली कायमतर्फ सबै अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कृषिबालीमा सिर्जित समस्या समाधानका लागि सरकारले घोषणा गरेको डिपबोरिङ बनाउने योजनाले तराईलाई मरुभूमि बनाउनसक्ने बताउँदै कृषिविज्ञ डा पौडेलले खेती प्रणाली परिवर्तन गर्नु उपयुक्त विकल्प हुने उल्ल्ेख गर्नुभयो । वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तनबाट मानव मात्र नभई वन्यजन्तु र वनस्पतिसमेत प्रभावित भएकाले ती क्षेत्रका मुद्दा उजागर हुनुपर्ने बताउनुभयो । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय अदालतले वन्यजन्तु र वनस्पतिको मुद्दा उठाउन वैकल्पिक मार्ग देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो । वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि तीनै तहका सरकार, सरोकार भएका निकायलगायत सङ्घसंस्थाले भावी पुस्ताको अधिकारका बारेमा ध्यान दिई दिगो विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । सञ्चारीका समूहकी अध्यक्ष कमला पन्थीले जलवायु न्यायबाट विशेषगरी महिला प्रभावित भएका बताउनुभयो । सुक्खा भएसँगै पानीका लागि लामो यात्रा गर्दा महिला प्रभावित हुने भएकाले सरोकार भएका निकायको सहकार्य र समन्वयमा जलवायु परिवर्तनका असर न्यूनीकरणमा केन्द्रित हुन सबैलाई आग्रह गर्नुभयो ।