कांग्रेसद्वारा कृषकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
Pulse Khabar शुक्रबार, साउन ०९, २०८२
काठमाडौँ, ९ साउनः नेपाली कांग्रेसले मधेस प्रदेशमा खानेपानीको अभाव, सिँचाइको समस्या, किसानले समयमा मल र बीउ नपाएकालगायत विद्यमान समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा कृषिमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको पछिल्लो अवस्था बारेमा ‘ब्रफिङ’ गर्नुभएको थियो । कांग्रेसले तीनै तहका सरकार मिलेर मधेस प्रदेशमा देखिएको खानेपानी र सिँचाइको समस्या समाधान गर्नुपर्ने, मल र बीउको नियमित आपूर्ति गर्नुपर्ने सुझाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्नुुहुने अन्य मन्त्रीहरूले आआफ्नो मन्त्रालयले गरेका कामका बारेमा ब्रिफिङ गर्नुभएको थियो ।
त्यस्तै महामन्त्री विश्वप्रकाश शर्माले रुपन्देहीमा निकट भविष्यमा हुने उपनिर्वाचन र मतदाताको अवस्थाका बारेमा अवगत गराउनुभएको थियो । बैठकमा सङ्घीय सरकारका मन्त्री हेरफेर हुनेसम्बन्धी सार्वजनिक भएको विषयका सम्बन्धमा कुनै छलफल नभएको सहमहामन्त्री परियारले बताउनुभयो । सभापति देउवाको अध्यक्षामा भएको बैठकमा पार्टीका वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको उपस्थिति थियो ।