विराटनगर:मोरङको रतुवामाईमा बिहीबार राति प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर दुई जना भारतीय नागरिक घाइते भएका छन् । घाइते भएकाहरुबाट हतियार र लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको छ ।गोली हानेर प्रहरीले घाइते भएकासहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न गिरोहलाई लक्षित गरेर गोली चलाउनु परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।उनका अनुसार गोली चलाएर पक्राउ गरिएकाहरुबाट करिब ५०० ग्राम खैरो हेरोइन, पेस्तोल र गोली बरामद भएको छ । लागुऔषध ओसारपसार तथा बिक्री भइरहेको सूचनाका आधारमा चेकजाँचका लागि प्रहरी टोली राति करिब ९ः३० बजेतिर रतुवामाई नगरपालिका–६ शनिश्चरेमा पुगेको थियो ।लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंबाट इन्स्पेक्टर राकेश यादव नेतृत्वको र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको बीआर ३७ भी ३९२६ नम्बरको मोटरसाइकल र तत्काल नम्बर नखुलेको अर्को मोटरसाइकलमा आएका तीन जनालाई रोकेको थियो । डीएसपी मिश्रका अनुसार प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोजेका थिए । नियन्त्रणमा लिने क्रममा भाग्न खोज्नुका साथै प्रहरीमाथि नै गोली प्रहार गर्ने प्रयाससमेत भएको उनले बताए । त्यसपछि प्रहरीले प्रतिकारस्वरूप चाइनिज पेस्तोलबाट पाँच राउन्ड र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गरेर आठ राउन्ड गोली चलाएको जानकारी मिश्रले दिए ।
प्रहरीको गोली लागेर भारतको अररिया कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन् । दुवै जनाको घुँडामुनि गोली लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि सुरुमा नगर अस्पताल झुर्किया पठाइएको थियो ।झुर्कियामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ । प्रहरीले गोली लागेर घाइते भएका दुवै जना भारतीय र एक जना नेपाली नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । भारतीय नागरिक दीपक र पुरनसहित मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुरलाई पक्राउ गरिएको मिश्रले बताए ।पक्राउ परेकाको साथबाट होममेड पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली एक थान, करिब ५०० ग्राम खैरो हेरोइन र दुवै मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय सिजुवाबाट करिब ६ किलोमिटर पश्चिम–दक्षिणमा पर्छ ।प्रहरीले बरामद हतियार एवं लागुऔषधको स्रोत, ओसारपसारको सञ्जाल र घटनामा संलग्न अन्य व्यक्तिका बारेमा अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरु लागुऔषधका नामुद कारोबारी रहेको प्रहरीले जनाएको छ ।
