

काठमाडौँ, साउन ८ – नेकपा एमालेका सल्लाहकार समिति सदस्य विनोद ढकालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि पार्टीकै तर्फबाट राजनीतिक अपराध भएको आरोप लगाएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै नेता ढकालले पार्टी सदस्यता खारेजीलाई राजनीतिक निर्णय नभई ‘राजनीतिक अपराध’ को संज्ञा दिएका हुन्।
उनले पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेतृत्वसँग पटक–पटक छलफल गरेपछि मात्र पार्टी सदस्यता नविकरण गरेको दाबी गरे। सक्रिय राजनीतिमा फर्कने विषयमा समेत भण्डारी र ओलीबीच गम्भीर छलफलहरू भएको उनले उल्लेख गरे।
“भण्डारीले पार्टी सदस्यता नविकरण गर्नुअघि नेतृत्वसँग पर्याप्त छलफल गर्नुभएको थियो,” ढकालले भने, “सदस्यता खारेज गर्ने निर्णयले एमालेभित्र निराशा मात्र छरेको छैन, यसले मदन भण्डारीको योगदानप्रति पनि अपमानजनक व्यवहार देखाएको छ।” उनका अनुसार पूर्वराष्ट्रपति भण्डारी एक ‘राजनीतिक प्राणी’ भएकाले उहाँले लिने निर्णयहरू स्वभावतः राजनीतिक हुने छन्। “भण्डारीले आफ्ना धारणा चाँडै सार्वजनिक गर्नुहुनेछ,” ढकालले भने।
एमालेको आसन्न विधान अधिवेशनमा यो विषयले विशेष स्थान पाउने सम्भावना रहेको समेत उनले जनाए। “विधान अधिवेशनमा यस विषयमा गम्भीर बहस हुनेछ र त्यसबाट केही न केही निस्कन्छ भन्ने अपेक्षा गर्न सकिन्छ,” ढकालको भनाइ थियो।