

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाले आफ्नो क्षेत्रका धार्मिक र शैक्षिक सम्पदामाथि गरिएको अध्ययन समेटिएको पुस्तक सार्वजनिक गरिएको छ । “धनपालथान गाउँपालिकाका धार्मिक तथा शैक्षिक संस्थाहरूको अध्ययन” शीर्षकको पुस्तक आज विराटनगरमा एक समारोहबीच विमोचन गरिएको हो।
पुस्तकको सम्पादन वरिष्ठ पत्रकार यज्ञप्रसाद शर्माले गरेका छन् । सम्पादन मण्डलमा पत्रकार श्यामसुन्दर सुतिहार, पदम सरदार र उषा मण्डल सदस्यका रूपमा सहभागी छन् । पुस्तक प्रकाशनका लागि गठित विज्ञ टोलीमा शर्मा स्वयंका साथै वरिष्ठ अधिवक्ता प्रा.डा. रामलाल सुतिहार र क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका संयोजक बिरेन्द्र शर्मा सदस्य छन् ।
धनपालथान गाउँपालिकाका सात वडामा रहेका मठमन्दिर, मस्जिदलगायत धार्मिक स्थल र शिक्षण संस्थाहरूको यथास्थितिलाई तथ्यसहित प्रस्तुत गरिएको यो पुस्तक पाँच सय प्रति प्रकाशित भएको हो । प्रकाशनको जिम्मा विराटनगरस्थित प्रकाश इन्भेष्टमेन्ट प्रा।लिले लिएको छ ।
पुस्तक प्रकाशनका लागि गाउँपालिकाले ४ लाख ८३ हजार रुपैयाँ खर्च गरेको गाउँपालिका अध्यक्ष जिवछप्रसाद गच्छदारले जानकारी दिए । विमोचन कार्यक्रममा अध्यक्ष गच्छदार, उपाध्यक्ष नसिमा वानो र प्रमुख प्रशासकीय अधिकृत रिता खतिवडाले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरूले गाउँपालिकाको सांस्कृतिक, धार्मिक र शैक्षिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा यस अध्ययनले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरे ।