केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो सङ्क्रमित पहिलो बिरामीको उपचारमा संलग्न परिचारक हुन् । अहिलेसम्म समुदायमा सङ्क्रमण फैलिएको पुष्टि भएको छैन ।स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. प्याट्रिक अमोथले ४९ वर्षीय परिचारकमा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । कङ्गोबाट युगान्डा हुँदै केन्या आएका पहिलो सङ्क्रमितको अक्टोबर ५ मा नैरोबीको अस्पतालमा मृत्यु भएको थियो । अन्य छ सङ्क्रमितको अवस्था स्थिर रहेको छ ।पहिलो बिरामीको सम्पर्कमा आएका करिब १३० जनाको पहिचान गरिएकामा १२८ जनालाई एकान्तवासमा राखिएको छ । लक्षण देखिएका व्यक्तिको परीक्षण भइरहेको छ ।
इबोला सङ्क्रमितको रगत, शारीरिक तरल पदार्थ वा दूषित वस्तुको प्रत्यक्ष सम्पर्कबाट सर्न सक्छ । कङ्गोमा मे महिनादेखि फैलिएको प्रकोपमा कम्तीमा चार हजार जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।केन्याले सीमामा स्वास्थ्य जाँच कडा पार्नुका साथै सङ्क्रमणको आशङ्का भएका व्यक्तिका लागि आपत्कालीन हटलाइन सञ्चालन गरेको छ । नैरोबीको मुख्य विमानस्थलमा उच्च जोखिम भएका देशबाट आउने यात्रुको जाँच गर्न छुट्टै प्रवेशद्वार तोकिएको छ । छिमेकी तान्जानियाले पनि सीमामा जाँच कडा पार्दै उच्च जोखिम भएका देशबाट आउने यात्रुलाई २१ दिनसम्म निगरानी गर्ने व्यवस्था लागू गरेको छ ।
