धरान:सुनसरीको धरानमा लागुऔषध नियन्त्रणका लागि विभिन्न प्रयास भइरहे पनि यससँग सम्बन्धित कसुरका घटना प्रहरीमा उल्लेख्य रूपमा दर्ता भइरहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानको तथ्यांकअनुसार पछिल्ला तीन आर्थिक वर्षमा लागुऔषधसम्बन्धी ४०६ मुद्दा दर्ता भएका छन् ।प्रहरीका अनुसार आर्थिक वर्ष २०८१–८२ देखि चालु आर्थिक वर्ष २०८३–८४ को असोजसम्म धरानमा विभिन्न कसुरका कुल एक हजार १७२ मुद्दा दर्ता भएका छन् । तीमध्ये लागुऔषधसम्बन्धी मुद्दाको संख्या सबैभन्दा बढी रहेको छ ।इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबु राईका अनुसार आर्थिक वर्ष २०८१–८२ मा विभिन्न कसुरमा ५१७ मुद्दा दर्ता भएका थिए । उक्त वर्ष ५८१ पुरुष र ६८ महिला पक्राउ परेका थिए । आर्थिक वर्ष २०८२–८३ मा ४९४ मुद्दा दर्ता हुँदा ५०९ पुरुष र ४७ महिला पक्राउ परेका थिए ।त्यस्तै, चालु आर्थिक वर्ष २०८३–८४ को साउनदेखि असोजसम्म १६१ मुद्दा दर्ता भएका छन् । यस अवधिमा १०३ पुरुष र आठ महिलासहित १११ जना पक्राउ परेको जानकारी डीएसपी राईले दिए ।लागुऔषधबाहेक अभद्र व्यवहार, बैंकिङ कसुर, कर्तव्य ज्यान, चोरी, बहुविवाह, भवितव्य ज्यान र जबर्जस्ती करणीका घटनामा समेत प्रहरीले मुद्दा दर्ता गरेको छ ।
प्रहरीका अनुसार लागुऔषधको प्रयोग तथा कारोबारमा ज्याला मजदुरी गर्ने र बेरोजगार युवाको संलग्नता बढी देखिएको छ । १५ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिहरू यस्तो गतिविधिमा बढी संलग्न रहेको पाइएको राईले बताए ।लागुऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न व्यक्तिले प्रहरीको निगरानी छल्न विभिन्न उपाय अपनाउने गरेको पनि प्रहरीले जनाएको छ । उनीहरूले सवारीसाधनमा लागुऔषध लुकाउने, फल्स बटम बनाउने तथा शरीरका विभिन्न भागमा लुकाएर ओसारपसार र बिक्री वितरण गर्ने गरेको पाइएको जानकारी डीएसपी राईले दिए ।नियन्त्रणका लागि प्रहरी र स्थानीयस्तरबाट प्रयास भइरहे पनि लागुऔषधसम्बन्धी मुद्दा धरानमा सबैभन्दा बढी देखिनुले यसको रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।
