२९ आश्विन २०८३, बिहिबार

दसैँको पाँचौं दिन: स्कन्दमाताको पूजासँगै शक्ति र बुद्धिको उपासना

Logo
Pulse Khabar बिहिबार, आश्विन २९, २०८३

काठमाडौं:बडादसैँको धार्मिक उल्लाससँगै नवरात्रको पाँचौँ दिन आज (बिहीबार) नवदुर्गाकी पाँचौं स्वरूप स्कन्दमाताको पूजाआराधना गरिँदै छ ।

आश्विन शुक्ल पञ्चमीका दिन घरघरमा, दसैँघर तथा पूजा कोठामा विधिपूर्वक देवीको पूजा गरी शक्ति, समृद्धि र ज्ञान प्राप्तिको कामना गरिन्छ ।सनातन धार्मिक परम्पराअनुसार नवरात्रका नौ दिन दुर्गाका नौवटा स्वरूपको क्रमशः पूजा गर्ने चलन छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौं दिन स्कन्दमाताको पूजा गरिन्छ । त्यसपछि छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गरिन्छ ।स्कन्दमातालाई मातृत्व, करुणा र आध्यात्मिक ज्ञानको प्रतीकका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार उनको आराधनाले भक्तजनलाई शक्ति, ऐश्वर्य र विद्याको आशीर्वाद प्राप्त हुन्छ । स्कन्दमाताको प्रतिमामा देवी सिंहासनमा विराजमान भएको र दुवै हातमा कमलका फूल धारण गरेको स्वरूप देखाइन्छ ।नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवत र विभिन्न देवी स्तोत्र पाठ गर्ने परम्परा छ । नौ दिनसम्म चल्ने विशेष पूजाआराधनाले घरपरिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

स्कन्दमातासँग सम्बन्धित पौराणिक कथामा ऋषि सनतकुमारको प्रसंग पनि उल्लेख गरिएको पाइन्छ । कथाअनुसार पार्वतीले ऋषि सनतकुमारलाई श्राप दिएर उँटको रूपमा परिणत गरेपछि उनको ज्ञान र ब्रह्मचिन्तनबाट प्रभावित भएकी थिइन् । ऋषिको आध्यात्मिक सामर्थ्य बुझेर पार्वतीले उनलाई पुत्रका रूपमा प्राप्त गर्ने इच्छा व्यक्त गरेको र त्यसै प्रसंगसँग स्कन्दमाता नाम जोडिएको धार्मिक आख्यान पाइन्छ । नवरात्रमा गरिएको पूजाआराधनापछि देवीको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने चलन छ । यसै परम्पराअनुसार नेपाली समाजमा १५ दिनसम्म बडादसैँ मनाइन्छ । नवरात्रका प्रत्येक दिन देवीका फरक स्वरूपको आराधना गर्दै भक्तजनले धार्मिक आस्था, पारिवारिक सुख र कल्याणको कामना गर्ने गर्छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206