राँझा (बाँके):दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटककोे चहलपहल बढेको छ ।
वर्षायाममा केही सुनसान बनेका यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल बढेको छ । चाडपर्वको अवसर पारेर घर फर्किएका स्थानीय, छिमेकी जिल्लाका बासिन्दा र टाढा–टाढाबाट आएका आन्तरिक पर्यटकले होमस्टे भरिभराउ भएको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो ।“वर्षायाममा सुनसान रहेका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रुपमा बढ्दो रहेको छ,” उहाँले भन्नुभयो, “बाँके, बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढी मात्रामा होमस्टेमा पाहुना आउने गरेका छन् ।” छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ । थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली होमस्टेमा दैनिक करिब ५०० पर्यटक पुग्ने गरेका छन् । बर्सातमा सुनसान हुन पुगेको गाभर भ्याली होमस्टेमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको चौधरीको भनाइ छ ।बाहिरी जिल्लाका साथसाथै दसैँ पर्व मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको चौधरीले बताउनुभयो ।
“यतिबेला बाहिरी जिल्लासँगै जिल्लाभित्रैका पाहुना यहाँ आइरहनुभएको छ,” चौधरीले भन्नुभयो, “दसैँ पर्व मान्न गृहजिल्ला बाँके आएका समेत समय मिलाएर यहाँ आउने गर्नुभएको छ ।”दसैँ मनाउन गाउँ फर्केका आन्तरिक पर्यटक होमस्टेमा घुम्न आउने गरेको राप्ती सोनारी गाउँपालिका–८ स्थित नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारूले बताउनुभयो । बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले होमस्टेको स्वाद लिन आफूकहाँ आउने गरेको उहाँको भनाइ छ ।वर्षायाम समाप्त भएसँगै प्राकृतिक सौन्दर्य र दुर्लभ वन्यजन्तुको प्राकृतिक बासस्थान मानिने बाँके राष्ट्रिय निकुञ्ज पुनः नयाँ ऊर्जाका साथ ब्युँझिएको छ । मनसुनका कारण केही महिनाका लागि स्थगित गरिएको जङ्गल सफारी औपचारिक रूपमा शुभारम्भ भएपछि निकुञ्ज क्षेत्रमा पर्यटकीय गतिविधि र चहलपहल ह्वात्तै बढेको छ ।विशेषगरी विश्वमै दुर्लभ र नेपालको संरक्षित वन्यजन्तु चौसिंगा (चार सिङ भएको मृग) अवलोकनका लागि देश–विदेशमा परिचित बाँके राष्ट्रिय निकुञ्ज वन्यजन्तु प्रेमी र प्रकृतिप्रेमी पर्यटकका लागि प्रमुख रोजाइको गन्तव्य बन्दै गएको गाभर भ्याली होमस्टेका अध्यक्ष चौधरीले बताउनु भयो ।
