काठमाडौँ: हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ ।
घटस्थापनादेखि आजसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको हो ।उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये ४१ हजार ९४६ जना महिला र ६७ हजार ६९० जना पुरुष रहेका छन् । दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको उहाँले बताउनुभयो ।दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ । विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ ।
यी नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी पर्व मनाउन उपत्यकाबाट बाहिरिनेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा गराउने चुनौती पनि थपिएको छ ।दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताउनुभयो ।उहाँका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ ।“यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ । हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो”, उहाँले भन्नुभयो ।चाडपर्वका समयमा लामो दूरीको यात्रा गर्ने यात्रुले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य तथा सवारी चलाउने समयजस्ता विषयमा विशेष ध्यान दिनुपर्ने तथा यात्रु र सवारी चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना कम गर्न सकिने उहाँको भनाइ छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल नागढुङ्गा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बिपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ ।दसैँ मनाउन उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढिरहेका बेला मुख्य सडकमा यातायात सञ्चालन भइरहेकाले यात्रुलाई आफ्नो गन्तव्यसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ । यद्यपि, मुख्य नाकामा सवारीसाधनको चाप बढ्दा यात्रा समय लम्बिन सक्ने भएकाले यात्रुले यात्राको योजना बनाउँदा पर्याप्त समय छुट्याउनु उपयुक्त हुने नेपाल यातायात राष्ट्रिय व्ययसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बताउनुभयो ।उहाँले भन्नुभयो, “दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै उपत्यकाबाट बाहिरिने सडक तथा सार्वजनिक यातायातमा थप चाप पर्ने देखिएको छ । यस्तो अवस्थामा ट्राफिक नियमको पालना, सुरक्षित गति र यात्रु क्षमताअनुसार सवारीसाधन सञ्चालन भइरहेको छ ।”दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक आफ्नो घर फर्किने गर्छन् । उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेसँगै राजधानीका सडक, बसपार्क तथा बाहिरी नाकामा चहलपहल बढेको जनाइएको छ ।
