काठमाडौँ:नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको छ ।
लखनउस्थित भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका ती जात आज यहाँ आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । बाराको जितपुरस्थित राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा ती जात नेपालमा भित्र्याइएको हो । यहाँस्थित भारतीय दूतावासका प्रथम सचिव निशाले उखुका चार उन्नत जातका बीउ नार्कका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक दिलराज यादवका अनुसार भारतबाट ल्याइएका ती जातमा उत्पादकत्व र चिनीको मात्रा बढी छ । ती जातका उखुको प्रवद्र्धनबाट उखुको गुणस्तर र उत्पादकत्व बढ्नुका साथै किसानको आम्दानी तथा चिनी मिलको उत्पादनमा सुधार हुने छ । नेपालमा करिब ५३ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । नेपालमा उखुको औसत उत्पादकत्व प्रतिहेक्टर करिब ५० मेट्रिक टन छ ।
