काठमाडौं:बडादसैँको धार्मिक र आध्यात्मिक महत्त्व बोकेको नवरात्रको दोस्रो दिन आज (सोमबार) माता ब्रह्मचारिणीको पूजाआराधना गरिँदैछ ।
नवदुर्गाका नौ स्वरूपमध्ये दोस्रो स्वरूपका रूपमा पुजिने ब्रह्मचारिणीलाई तपस्या, त्याग, संयम र दृढ संकल्पकी प्रतीक मानिन्छ ।धार्मिक मान्यताअनुसार माता ब्रह्मचारिणीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन् । हिमालयकी पुत्रीका रूपमा जन्मिएकी उनले देवर्षि नारदको सल्लाहअनुसार हजारौँ वर्षसम्म कठिन साधना गरेको पौराणिक कथन छ । लामो समयसम्म फलफूल र कन्दमूल खाएर तथा पछि सुकेका पातसमेत त्यागेर तपस्या गरेका कारण उनको नाम ब्रह्मचारिणी रहन गएको धार्मिक ग्रन्थमा उल्लेख छ ।‘ब्रह्म’को अर्थ तपस्या वा ज्ञान र ‘चारिणी’को अर्थ त्यसको आचरण गर्ने भन्ने हुन्छ । यस अर्थमा ब्रह्मचारिणीलाई साधना, ज्ञान र आत्मसंयमको मार्गमा अघि बढ्ने शक्तिका रूपमा व्याख्या गरिन्छ ।माता ब्रह्मचारिणीको स्वरूप शान्त र तेजोमय रहेको मानिन्छ । उनको एक हातमा जपमाला र अर्को हातमा कमण्डलु हुन्छ । सेतो वस्त्र धारण गर्ने देवीको स्वरूपलाई पवित्रता, शान्ति र सात्विकताको प्रतीकका रूपमा लिइन्छ ।
नवरात्रको दोस्रो दिन भक्तजनले बिहान स्नान गरी शुद्ध भएर देवीको पूजा आराधना गर्छन् । पूजामा सेतो फूल, अक्षता, चन्दन, फलफूल र पञ्चामृत चढाउने परम्परा छ । यस दिन देवीलाई चिनी वा मिठाई अर्पण गर्नु शुभ मानिन्छ । उखु वा चिनी दान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास पनि रहेको छ ।ब्रह्मचारिणीको पूजाका क्रममा ‘ॐ देवी ब्रह्मचारिण्यै नमः’ मन्त्र जप गर्ने चलन छ । देवीको ध्यान र आराधनाले मनमा धैर्य, आत्मविश्वास र एकाग्रता बढ्ने तथा कठिन परिस्थितिमा पनि लक्ष्यप्रति दृढ रहन प्रेरणा मिल्ने धार्मिक विश्वास गरिन्छ ।नवरात्रका नौ दिन नवदुर्गाका फरकफरक स्वरूपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्रीको आराधनाबाट सुरु भएको नवरात्रमा दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिन्छ । यसरी क्रमशः नौ स्वरूपको आराधना गर्दै दसैँको मुख्य दिन विजयादशमी मनाउने परम्परा छ ।
