
चौतारा (सिन्धुपाल्चोक), ७ साउनः भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरूपमा बन्द भएको हो ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार आज बिहान करिब ५ः०० बजे भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित इकु पहिरो क्षेत्रबाट सडक माथिबाट ठूलो मात्रामा पहिरो खस्दा सडक सम्पूर्ण रूपमा बन्द भएको हो ।
उहाँले पहिरोका कारण तातोपानी नाकासँगको आवतजावत र सवारी सञ्चालन पूर्णरूपमा रोकिएका बताउनुभयो । पहिरो झर्ने क्रम अझै नरोकिएकाले हालको अवस्थामा सडक सञ्चालन गर्न असम्भव देखिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार इकु पहिरो क्षेत्र विगतदेखि नै संवेदनशील मानिँदै आएको छ । पटकपटक सडक भासिने समस्या आइरहेको यस क्षेत्रमा, २०७२ सालको भूकम्पले कोदारी बस्ती बगाएपछि उक्त क्षेत्र पहिरोको उच्च जोखिममा परेको शेर्पाले बताउनुभयो ।
हाल बस्ती पूर्णरूपमा विस्थापित भइसकेको उल्लेख गर्दै उहाँले सडक खुलाउने सम्भावनाबारे सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारबीच छलफल जारी रहेको जानकारी दिनुभयो ।