काठमाडौं:दसैँमा घर फर्किने यात्रुको चाप बढेसँगै अग्रिम टिकट लिन नयाँ बसपार्कमा रातिदेखि नै भिड लागेको छ ।
सरकारले आज (शुक्रबार) असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेपछि टिकट पाउने आशमा यात्रुहरू रातिदेखि नै काउन्टरमा लाइन बसेका हुन् । विशेषगरी सुदूरपश्चिम जाने यात्रुहरू बिहीबार राति ९ बजेदेखि नै लाइनमा लागेको नयाँ बसपार्क सञ्चालक लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले जानकारी दिए ।
यात्रुको चाप व्यवस्थापन गर्न लोत्सेले नयाँ बसपार्क क्षेत्रमा १५ वटा टिकट काउन्टर थप गरेको छ । टिकट वितरणलाई सहज बनाउन आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको मल्लले बताए ।यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते भएको बैठकले असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
