२२ आश्विन २०८३, बिहिबार

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

Logo
Pulse Khabar बिहिबार, आश्विन २२, २०८३

म्याग्दी:राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ ।

यही असोज ११ गते कालीगण्डकी नदीमा गएको बाढीले ४० मेगावाट क्षमताको सो आयोजनामा क्षति पुर्‍याएपछि बन्द भएको थियो ।आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । आयोजनाको विद्युत्गृहबाट विद्युत् उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्‍याएको थियो । कालीगण्डकीले धार परिवर्तन गरी स्विचयार्ड नजिकैसम्म कटान गर्नाका साथै टेलरेसबाट विद्युत्गृहभित्र पानी प्रवेश गरी डुबानमा परेको थियो । हालै निर्माण सम्पन्न भई असोजको पहिलो सातादेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरेको आयोजना बाढीका कारण पूर्णरुपमा बन्द भएको थियो । विद्युत्गृहमा जम्मा भएको पानी हटाई बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी एक विद्युत् उत्पादन पुनः सुरु गरिएको आयोजना प्रमुख राजबहादुर विष्टले बताउनुभयो । “बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी ११ दिनमा एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरेका छौँ”, उहाँले भन्नुभयोे, “२० मेगावाट क्षमताको अर्को युनिट छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।”राहुघाट जलविद्युत् आयोजनामा २०/२० मेगावाट क्षमताका दुई वटा युनिट छन् । आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।

अवरुद्ध बनेको पहुँचमार्ग मर्मतका साथै झीँ र दग्नामको सिमानामा रहेको बाँध क्षेत्रमा थुप्रिएको गेग्रान पनि पन्छाइएको छ ।कालीगण्डकी नदीमा गेग्रान मिसिदा बाढीको सतह बढेर ग्राबेलको बेस भएको कालीगण्डकी किनारबाट विद्युत्गृहतर्फ कटान गरेर बग्दा चिन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको करिब १५० मिटर सडक पनि बगाएको छ । विद्युत्गृह स्थलमा निर्माण गरिएको ‘स्विचयार्ड’ पनि नदी कटानको उच्च जोखिममा परेको छ । राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका सवारीसाधन र उपकरण पनि बाढीले बगाएको छ । कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–१, दोवाको भिरकाटपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको छ । नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काले क्षतिग्रस्त टावर र प्रसारण लाइन मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको बताउनुभयो । दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रसारण बन्द भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206