काठमाडौं:बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउन नेपाल प्रहरीले आजदेखि ‘चाडपर्व लक्षित सुरक्षा योजना-२०८३’ लागू गरेको छ ।
पर्वका बेला आमनागरिकको जनजीवन सामान्य राख्न, बैंक तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित गर्न र विभिन्न गन्तव्यमा जाने यात्रुलाई सुरक्षित आवागमनको व्यवस्था मिलाउन योजना लागू गरिएको प्रहरीले जनाएको छ ।केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार चाडपर्वको मौका छोपेर चोरी, डकैती, जुवातास, सट्टेबाजी, तस्करी तथा सीमा अपराध बढ्न सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक तथा वित्तीय संस्थामा चोरी–डकैती, लुटपाट, खाद्यान्न तथा उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी तथा नक्कली नोटको कारोबारलाई प्रहरीले मुख्य सुरक्षा चुनौतीका रूपमा लिएको छ ।यात्रु सहायता र गस्ती बढाइयो:चाडपर्वको सुरक्षा व्यवस्थाका लागि करिब ५० हजार प्रहरी परिचालन गरिएको छ । देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष र अन्तर्राष्ट्रिय सीमा नाकामा १०८ सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कमान्ड पोस्ट स्थापना गरी त्यहीँबाट सुरक्षा परिचालनको व्यवस्था मिलाइएको छ ।यस अवधिमा पैदल, मोबाइल तथा ग्रामीण गस्ती बढाइनेछ ।
चेकप्वाइन्टमा चेकजाँच कडा पारिनेछ भने ट्राफिक प्रहरीसहितको संयुक्त जाँचको व्यवस्था गरिएको छ । सरकारी तथा महत्त्वपूर्ण संस्थान, कारागारलगायत संवेदनशील कार्यालयको सुरक्षा पनि मजबुत पारिएको प्रहरीले जनाएको छ ।ड्रोन, सिसीटिभी र ‘बडीवन’ क्यामरालगायत प्रविधिको प्रयोग गरी सुरक्षा निगरानी बढाइनेछ । काठमाडौं उपत्यकासहित प्रमुख सहरका बजार, सपिङ मल, मार्ट, बैंक तथा वित्तीय संस्था र सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसामा शून्य सहनशीलताको नीति अपनाइएको प्रहरीले जनाएको छ ।लामो दूरीका सवारीमा दुई चालक:चाडपर्वमा काठमाडौं उपत्यकाबाट लाखौँ यात्रु बाहिरिने अनुमानसँगै सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विशेष योजना लागू गरेको छ । सवारी चालकको अनुमतिपत्र जाँच, लामो दूरीका सवारीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्था र सवारीको प्राविधिक अवस्थाको परीक्षणलाई कडाइका साथ लागू गरिने प्रहरीले जनाएको छ ।सवारीमा क्षमताभन्दा बढी यात्रु राख्न नदिने र सबै सवारीसाधनले सात दिनभित्रको ‘मेकानिकल टेस्ट रिपोर्ट’ पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रहरीका अनुसार नेपालमा पहिलो पटक यस्तो रिपोर्ट अनिवार्य गर्न लागिएको हो ।
काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई दुःख दिने, हैरानी पार्ने, महँगोमा टिकट बिक्री गर्ने, कालोबजारी गर्ने तथा सिट नभएको टिकट जारी गर्ने प्रवृत्ति नियन्त्रणमा पनि प्रहरीले विशेष निगरानी गर्नेछ ।प्रवक्ता काफ्लेले चाडपर्वमा नागरिकको सुरक्षा, सहज आवागमन र दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखिएको बताए। उनले विगतको तुलनामा अझ शान्त, सुरक्षित, व्यवस्थित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए । प्रहरीले सुरक्षा व्यवस्थालाई सम्बन्धित प्रहरी प्रमुखको कार्यसम्पादनसँग जोडेको छ । जिल्ला प्रहरी प्रमुख र प्रदेश प्रहरी प्रमुखको कार्यसम्पादन मूल्याङ्कनमा चाडपर्व सुरक्षा व्यवस्थालाई समेत आधार बनाइने प्रहरीले जनाएको छ ।चाडपर्वका समयमा हुन सक्ने विपद्का घटनामा तत्काल उद्धार तथा राहतका लागि प्रहरीले विशेष टोली तैनाथ गरेको छ ।विपद् व्यवस्थापन गुल्मका प्रहरी कर्मचारीलाई २४ घण्टा खोज, उद्धार, राहत तथा सुरक्षा कार्यका लागि तयारी अवस्थामा राखिएको प्रवक्ता काफ्लेले बताए ।
