गण्डकी: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन आज पेस गरेको छ ।
आयोगको पोखरा कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाले संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम प्रदेश प्रमुखसमक्ष आयोगको ३६औँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।सो अवसरमा प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता अन्त्य र भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन आयोग क्रियाशील रहेकामा खुसी व्यक्त गर्नुभयो ।
मुलुकको विकासको बाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “राज्य संयन्त्रको तल्लो तहदेखि उपल्लो तहसम्मका कर्मचारी तथा जिम्मेवार व्यक्तिहरूको नैतिक आचरण शुद्ध र कामप्रति जवाफदेहिता हुनुपर्छ”, उहाँले भन्नुभयो ।
