बर्दिया:जिल्ला अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा सघन उपचारकक्ष (आइसीयू)को सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई उपचारका लागि नेपालगन्ज र कोहलपुरलगायतका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ ।
अस्पतालमा दैनिक औसतमा २५० जना बिरामी उपचारका लागि आउने गरे पनि आवश्यक जनशक्ति र आइसीयू सुविधा नहुँदा जटिल अवस्थाका बिरामीले समयमै उपचार पाउन कठिनाइ हुने गरेको छ ।बर्दियाको मधुवन नगरपालिका–४ का मस्तराम चौधरीका बुबा गत भदौ १७ गते रक्तचाप कम भएपछि उपचारका लागि बर्दिया अस्पताल ल्याइएको थियो । बिरामीको शरीरमा अक्सिजनको मात्रा कम भएकाले आइसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था भए पनि जिल्ला अस्पतालमा सो सुविधा नभएपछि चिकित्सकले थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज रेफर गरेको मस्तरामले बताउनुभयो ।त्यस्तै, गत असारमा राजापुर नगरपालिका–५ पहाडीपुरका सूर्यलाल चौधरी मिर्गौलासम्बन्धी समस्याका कारण उपचारका लागि जिल्ला अस्पताल पुग्नुभएको थियो । अस्पतालमा आवश्यक उपचार हुन नसकेपछि, उहाँलाई पनि भेरी अस्पताल नेपालगन्ज रेफर गरिएको उहाँका नाति मनोज चौधरीले बताउनुभयो ।चिकित्सक तथा आइसीयू सुविधा नहुँदा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुवास पाण्डेले बताउनुभयो । “अस्पतालमा गम्भीर अवस्थाका बिरामी आउने गरेका छन् । दरबन्दीअनुसारका चिकित्सक र आइसीयू सुविधा नहुँदा बिरामीलाई रेफर गर्न बाध्य छौँ”, उहाँले भन्नुभयो ।
अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा जटिल अवस्थाका बिरामीलाई आवश्यक उपचार दिन समस्या भएको डा पाण्डेले बताउनुभयो । चिकित्सकको अभावकै कारण आइसीयू सञ्चालन गर्न नसकिएको उहाँकोे भनाइ छ ।अस्पतालमा आवश्यक चिकित्सकसहित आइसीयू सञ्चालनको माग हुँदै आएको छ । बर्दिया क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद ठाकुरसिंह थारूले सो अस्पतालमा आइसीयू, चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध गराउन माग गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा माग गर्नुभएको छ ।गत भदौ ९ गते दर्ता गरिएको निवेदनमा बर्दिया अस्पतालमा आइसीयू तथा चिकित्सकको अभावका कारण बिरामीले सास्ती भोग्नुपरेको उल्लेख गर्नुभएको छ । आइसीयू सञ्चालनका लागि सबैभन्दा पहिले गम्भीर अवस्थाका बिरामीको उपचार गर्न आवश्यक विशेषज्ञ चिकित्सकको व्यवस्था हुनुपर्ने डा पाण्डेले बताउनुभयो । उहाँका अनुसार हाल अस्पतालमा एक जना स्त्रीरोग विशेषज्ञ, एक जना फिजिसियन र एक जना एनेस्थेसियोलोजिस्ट डाक्टर आवश्यक छ ।
त्यस्तै, आइसीयू सञ्चालनका लागि चार जना मेडिकल अधिकृत, आठ नर्स र चार जना कार्यालय सहयोगी आवश्यक पर्ने उहाँले बताउनुभयो ।जिल्लाका बिरामीलाई सेवा दिने उद्देश्यले स्थापना गरिएको अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र आइसीयू सुविधा नहुँदा बिरामीले उपचारका लागि नेपालगन्ज तथा कोहलपुर पुग्नुपर्ने बाध्यता रहेको स्थानीय समाजसेवी सोमाई थारूले बताउनुभयो ।उहाँले भन्नुभयो, “अस्पतालमा आवश्यक उपचार नहुँदा बिरामीले सास्ती भोग्नुपरेको छ । जटिल समस्या देखिएपछि रेफर गरिएका बिरामीलाई नेपालगन्ज लैजाँदै गर्दा बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था आउने गरेको छ ।” उहाँले जिल्लाका बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी पठाउनुका साथै आवश्यक उपकरण र सुविधा विस्तार गर्न माग गर्नुभयो ।जिल्ला अस्पताल ५० शय्याको हो । अस्पतालमा अधिकांश दरबन्दी रिक्त छ । अस्पतालमा भौतिक पूर्वाधार पर्याप्त भए पनि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा उपकरणको अभाव रहेको अस्पतालले जनाएको छ ।
