१८ आश्विन २०८३, आइतबार

मालढुङ्गा मोटरेबल पुल मर्मत कार्य तीव्र

Logo
Pulse Khabar आइतबार, आश्विन १८, २०८३

पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङ जोड्ने कालीगण्डकी माथिको मालढुङ्गा मोटरेबल पुल मर्मत कार्य तीव्र गतिमा अघि बढेको छ ।

यही असोज ८ गतेदेखि ११ गतेसम्म परेको भारी वर्षाका कारण कालीगण्डकीमा आएको बाढीले भत्काएको पुल २४सै घण्टा काम गरेर तीव्र गतिमा मर्मत गरिएको हो । पुलको पर्वततर्फको पहुँचमार्ग नदीले कटान गरेपछि भत्किएको थियो । पुल भत्किदा १० दिनदेखि दुई जिल्लाबीचको सम्पर्क विच्छेद बनेको छ भने मध्यपहाडी लोकमार्ग हँँदै बागलुङ, रुकुम, रोल्पाको सम्पर्क सुत्रसमेत टुटेको छ । सडक डिभिजन कार्यालय पोखराले दिउँसो र राति दुवै समयमा मजदुर परिचालन गरी पुल मर्मत कार्य गरिरहेको जनाएको छ । डिभिजन प्रमुख कृष्णराज अधिकारीले चाडवाडसमेत नजिकिँदै गएको तथा बागलुङमा खाद्यान्न, ग्यासलगायत उपभोग्यीय सामानको अभावसमेत देखिन थालेकाले २४सै घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । अहिलेसम्म नदीको सतहभन्दा करिब आठ मिटर तलसम्म गहिरिएको भाग पुरी प्लेटफर्म निर्माण गरिसकेको इञ्जिनियर अमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पहूँच मार्ग निर्माणका लागि ठूलो परिमाणमा माटो, ढुङ्गा तथा गिटी आवश्यक पर्ने भए पनि आसपास पर्याप्त निर्माण सामग्रीको स्रोत नहुँदा काम प्रभावित भएको जानकारी दिनुभयो । सुरुमा निर्माणस्थलबाट करिब दुई किलोमिटर अगाडिबाट निर्माण सामग्री ल्याउने गरिएकोमा त्यहाँबाट सामग्री ल्याउन रोकिएपछि करिब १० किलोमिटर टाढाको पहिरोबाट माटो तथा ढुङ्गा ल्याएर काम गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

निर्माण सामग्रीको व्यवस्थापनमा आएको समस्याका कारण निर्धारित समयअनुसार काम अघि बढ्न नसकेको हो ।निर्माणस्थल साँघुरो हुनुका साथै अग्लो पर्खाल (वाल) निर्माण गर्नुपर्ने भएकाले प्राविधिक रूपमा काम चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । कार्यालयले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै काम अघि बढाइरहेको र निर्माण सामग्री तथा अन्य आवश्यक सहयोग सहज रूपमा उपलब्ध भएमा करिब सात दिनभित्र कालीगण्डकी पुल सञ्चालन गर्न सकिने अवस्थामा पु¥याउने लक्ष्य रहेको डिभिजन प्रमुख अधिकारीले बताउनुभयो । प्रतिनिधिसभा सदस्य सोम शर्मा, प्रधानमन्त्री बालेन्द्र शाहका निजि सचिव प्रदीप परियारसहित सडक विभागको टोलीले शनिबार स्थलगत निरीक्षण गरी २४सै घण्टा काम गरेर भएपनि यथासिघ्र पुल संचालनमा ल्याउन निर्देशन दिएको छ । पुल मर्मतका लागि चाहिने आवश्यक सामाग्री सहज रुपमा उपलब्ध गराउने वातावरण मिलाउने जिल्ला प्रशासन कार्यालय पर्वत, बागलुङ तथा बागलुङ नगरपालिकालाई आवश्यक समन्वय गर्नसमेत भनिएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

दश दिनदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा बागलुङबाट बाहिरिने साना तथा ठूला सवारीसाधन अलपत्र बनेका छन् । यात्रुहरु भने अग्लो र लामा पुलबाट पर्वततर्फ आइ गन्तव्यमा पुग्नुपर्ने बाध्यता रहेको छ । बागलुङ बजारमा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव खड्किँदै गएको छ । भारी वर्षाका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी र मुस्ताङ जोड्ने मालढुङ्गा–बेनी सडक शुक्रबारदेखि एकतर्फी सञ्चालनमा आएको छ । पर्वतको दुई मुख्य सडकसमेत १० दिनदेखि अवरुद्ध रहेका छन् । कालीगण्डकी लोकमार्गको पर्वत खण्ड र लुंखदेउराली–हुवास सडक अझै सञ्चालनमा आउन नसकेका हुन् । यी दुई सडक अवरुद्ध हुँदा दक्षिण पर्वतको बिहादी र पैैंयू गाउँपालिकका बासिन्दा सदरमुकाम कुश्मा आउजाउ ठप्प भएको छ । यात्रु स्याङ्जा, पोखरा हुँदै कुश्माबजार आउनुजान बाध्य भएका छन् । सडक मर्मतका लागि पहल भइरहेको र पहिले वैकल्पिक सडक खुलाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206