झापा:कोशी प्रदेशमा पहिलोपटक हुन लागेको राष्ट्रिय स्तरको मिस्टर कञ्चनजंघा खुला शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ ।
तेस्रो संस्करणको प्रतियोगिता पुरुष तथा महिला राष्ट्रिय स्तरको हुने भएको हो ।यही असोज २० र २१ गते झापाको बिर्तामोडमा हुने प्रतियोगिता यो संस्करणबाट राष्ट्रिय स्तरको हुन लागेको हो । पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएको थियो । आयोजक बडी ग्यारेज शारीरिक सुगठन क्लबले प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।यसअघि तेस्रो संस्करण २०८२ भदौ २७ र २८ गते हुने तय भए पनि जेन्जी आन्दोलनका कारण स्थगित भएको थियो । सो बेला सम्पूर्ण तयारी पूरा भए पनि प्रतियोगिता रोकिन पुगेको थियो ।आयोजक बडी ग्यारेजका सञ्चालक तथा कार्यक्रम संयोजक राम दाहालका अनुसार प्रतियोगिताअन्तर्गत पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुनेछन् । महिलातर्फ भने खुला प्रतिस्पर्धा हुनेछ ।प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष पदम श्रेष्ठले जानकारी दिए । यसअघि अघिल्लो संस्करणमा विजेताको पुरस्कार नगद ३ लाख ११ हजार १११ रुपैयाँ थियो ।त्यस्तै, तेस्रो संस्करणमा दोस्रो हुनेले नगद तीन लाख रुपैयाँ, तेस्रो हुनेले दुई लाख रुपैयाँ, चौथो हुनेले एक लाख रुपैयाँ पाउनेछ ।
पाँचौँ हुनेले नगद ७५ हजार रुपैयाँ र छैटौँ हुनेले नगद ५० हजार रुपैयाँ पाउने छन् ।कोशी प्रदेशमा पहिलोपटक हुन लागेको महिला प्रतिस्पर्धाका प्रथम हुने खेलाडीलाई नगद एक लाख रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार रुपैयाँ प्रदान गरिने कोषाध्यक्ष शारदा दाहालले जानकारी दिइन् ।त्यस्तै, हरेक तौल समूहका दोस्रो हुने खेलाडीले नगद सात हजार र तेस्रो हुने खेलाडीले नगद पाँच हजार रुपैयाँ पाउने छन् । बाँकी तीन जनालाई ट्रफी र मेडल प्रदान गरिनेछ । यसैबीच, एक कार्यक्रमका बीच विजेताले प्राप्त गर्ने ट्रफी र मेडलको अनावरण समेत गरिएको छ ।प्रतियोगितामा देशभरबाट दुई सय जना खेलाडीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको प्रतियोगिताका सचिव हिमाल खरेलले बताए । प्रतियोगिताको सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।दोस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको उपाधि दिलीपकुमार चौधरीले जितेका थिए । डिएनपी फिटनेस गाईघाटका उनी ६५ केजी तौल समूहबाट सहभागी थिए ।अघिल्लो संस्करणलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको थियो । बडी ग्यारेजले संयोजन गरेको सो प्रतियोगितालाई बोर्डले १५ लाख रुपैयाँ सहयोग गरेको थियो ।
