विराटनगर:मनमोहन प्राविधिक विश्वविद्यालयको सातौँ वार्षिकोत्सवको अवसरमा ‘स्कुल अफ इन्जिनियरिङ’ ले विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।
विश्वविद्यालयको सातौँ वार्षिक उत्सवको अवसरमा बुढीगंगा गाउँपालिका–४ हात्तीमुढास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सिभिल इन्जिनियरिङ स्नातक तह प्रथम सेमेस्टरका विभिन्न ८ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो ।जनही ७१ हजार १७५ रुपैयाँको छात्रवृत्ति पाउने विद्यार्थीहरूमा सिभिल इन्जिनियरिङतर्फ प्रेरणाकुमारी यादव र इलेक्ट्रिकल इन्जिनियरिङतर्फ सुयोग भण्डारी छन् ।यसैगरी, सिभिल इन्जिनियरिङतर्फका आयुषमा राय, विप्लव चौधरी, जानुका गिरी र नितिनकुमार कर्णले जनही २८ हजार ८५० रुपैयाँको सहुलियत छात्रवृत्ति प्राप्त गरे । इलेक्ट्रिकल इन्जिनियरिङतर्फका विपेन निरौला र अपेक्षा चौधरीले पनि जनही २८ हजार ८५० रुपैयाँको सहुलियत छात्रवृत्ति प्राप्त गरे ।विद्यार्थीहरूलाई विश्वविद्यालयका रजिस्ट्रार डा. किशोर अधिकारी र स्कुल अफ इन्जिनियरिङका डिन डा. रेखा श्रेष्ठले सम्मानसहित नगद छात्रवृत्ति प्रदान गरे ।
२०७६ असार १६ मा कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीहरूलाई हरेक वर्ष जेहेन्दार, सहुलियत र समावेशी छात्रवृत्ति वितरण गर्दै आएको छ ।सातौँ वार्षिकोत्सवको अवसरमा विद्यार्थी, शिक्षक र पदाधिकारीले शुक्रबार विश्वविद्यालय परिसरमा दीप प्रज्वलन गरेर शुभकामना आदानप्रदानसमेत गरेका थिए ।वार्षिकोत्सवका अवसरमा विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा वृक्षारोपण गरिएको । उपकुलपति डा. सुवासश्री पोखरेल, विश्वविद्यालयका संरक्षण समिति सदस्य सत्यनारायण चौधरी, मनमोहन इन्स्टिच्युट अफ ल प्राचार्य कोषराज न्यौपानेलगायतले उपकुलपति कार्यालयको सौन्दर्यीकरण बढाउन सामूहिक वृक्षारोपण गरेका थिए ।
