

पर्वत । पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएको पहिरोमा परेका दम्पतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा पुरिएका ७६ वर्षीय विष्णुमती विश्वकर्मा र उनका श्रीमान् छविलाल विश्वकर्माको शव भेटिएको हो ।
गएरातिदेखि पर्वत र आसपासका क्षेत्रमा निरन्तर भीषण वर्षा भइरहेकाले पहिरो र बाढीका घटना बढेका छन् । यस क्षेत्रमा पर्ने मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी नदीको जलसतह समेत खतराको तहसम्म बढेको छ ।
स्थानीय प्रशासनले नदी तथा खोला किनाराका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । उद्धार र जोखिम न्यूनीकरणका लागि सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।